काठमाण्डौ । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बजारका तमाम हल्लाहरुलाई चिर्दै यसपटक पनि बैंकले ‘चमात्कार’ गर्ने दाबी गरेका छन् ।

बिजशालासँगको कुराकानीमा सीइओ न्यौपानेले देशको अर्थतन्त्र तथा बैंकिङ अप्ठ्यारो पर्दाको हरेक अवस्थामा एनआइसी एशिया बैंकको विषयमा नकारात्मक र निराशाजनक हल्ला पिटिने गरेको र आफूहरुले प्रत्येकपटक त्यसको ठीक विपरीत मानिसहरुलाई चकित पार्ने रिजल्ट दिइरहेको उल्लेख गर्दै भने–‘यसपटक पनि एनआइसी एशिया बैंकको खराब कर्जा ह्वात्तै बढ्ने, बैंक धरापमा पर्ने लगायतका कैयन नचाहिँदा हल्ला फैलाइएका छन् । हामीले यसपटक पनि हल्लाभन्दा ठीक विपरीत चमात्कारिक प्रगति रिपोर्ट सार्वजनिक गर्नेछौं । यसपटक पनि हामीले बैंकिङ उद्योगमै अर्को चमात्कार गरेर देखाउनेछौंं ।’ 

उनले पछिल्लो समय एनआइसी एशिया बैंक रिकभरिमा आक्रामक रुपले लागेको र त्यसको परिणामस्वरुप खराब कर्जा तथा सम्पत्ति तीव्र गतिमा घटिरहेको बताए ।  ‘तपाईले चालु आर्थिक वर्षको दोश्रो त्रैमासकै रिपोर्ट हेर्नुभयो भने पनि हामी सबैभन्दा कम खराब कर्जा तथा सम्पत्ति भएको बैंकमध्ये टप थ्रीमा परेका छौं । त्यो पनि एउटा चमात्कार नै थियो ।’ उनले थपे–‘आगामी दिनमा पनि हामी खराब कर्जा र खराब सम्पत्तिमा नेपाली बैंकहरुमध्येकै सुविधाजनक अवस्थामा हुनेछौं ।’

एनआइसी एशिया बैंकले आफ्नो पोर्टफोलियोलाई डाइभर्सीफाइ गर्दै साना तथा मझौला आकारका कर्जाहरुमा केन्द्रीत गरेका कारण समेत आफूहरुलाई थप सहज भएको उनको भनाई छ । ‘कतिपय बैंकरहरुमा समेत एनआइसी एशिया बैंकको विषयमा भ्रम देखिन्छ । तर, यथार्थ फरक छ । हाम्रो लोन पोर्टफोलियोमा सबैभन्दा ठूलो हिस्सा एसएमई र रिटेलको छ । यस्ता लोन २–४ वटा कर्जा बिग्रिदैमा बैंकको वित्तीय स्वास्थ्यमा केही फरक पर्नेवाला छैन ।’ उनले अगाडि भने–‘हाम्रो प्रोफिट्याबिलीटी, आरओई सबै बैंकिङ उद्योगमै नम्बर वानमा छ । कर्जा र निक्षेपमा समेत हामी सुविधाजनक अवस्थामा छौं । अरु निक्षेपको पछि दौडँदा हामीमा त्यो दवाब छैन । अब बैंक अझ मजबुत भएर जानेछ।’

‘सेयर बजारका लगानीकर्ताको आशामाथि त तपाईहरुले चिसो पानी खन्याइदिनुभयो नि त ?’ भन्ने बिजशालाको प्रश्नमा सीइओ न्यौपानेले पूँजीकोष अनुपात लगायतसँग सम्बन्धित नियामकीय व्यवस्थाका कारण यस्तो भएको उल्लेख गर्दै त्यसलाई म्यानेज गर्दै बैंक अगाडि बढेको र आउँदो आर्थिक वर्षदेखि विगतको समस्या नआउने दाबी गरे । ‘अहिले नै यति र उति लाभांश बाँड्छौं भन्न मिल्दैन । तर, लगानीकर्ताले प्रतिक्षा गरेको फल मीठो हुनेवाला छ ।’–उनले भने ।

उनले दोश्रो बजारका लगानीकर्ताले एनआइसी एशिया बैंकलाई माया गरेर सेयरमूल्यमा सम्मानजनक अवस्था बनाइदिएको उल्लेख गर्दै सबैप्रति आभार पनि व्यक्त गरे । ‘हामीप्रतिको बढ्दो यो विश्वासलाई आगामी दिनमा कमजोर हुन दिंदैनौं ।’ उनले भने–‘हामी अहिले सबैभन्दा अगाडि छौं, यो अवस्था सधैं रहन्छ । हाम्रो प्रतिबद्ध र मेहेनती टिमले एनआइसी एशियाका लगानीकर्ता भएका कारण गर्व गर्ने अवस्था बनाउँदै जानेछ ।’ 

'आफैं पूँजी पुर्याउँछौं, मर्जरमा जाँदैनौं'
सीइओ न्यौपानेले आफूहरु कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने कुरामा सुनियोजित ढंगले हल्ला चलाइएको समेत प्रष्ट पारे । ‘अहिले त बजारमा यस्तो अवस्था बनिसकेछ कि एनआइसी एशियासँग नाम जोडेर अन्य बैंकको सेयर प्राइस बढाइदिने । चलखेलका लागि मात्र यस्ता हल्ला भइरहेका छन् । हामी तत्काल मर्जरमा जाने नीतिमा छैनौं ।’ उनले भने–‘हामी आफैंले कमाएको नाफाबाट लाभांश बाँड्दै पूँजीको आकार बढाएर प्रतिस्पर्धी बन्दै जाने रणनीतिमा अडिग र प्रतिबद्ध छौ्रं ।’ 

सीइओ न्यौपानेले एनआइसी एशिया बैंकको साधारणसभाबाट मर्जरसम्बन्धी कुनै पनि नीति पारित नभएको र पारित नै नभएको कुरामा जाने भन्ने कुरै नहुने समेत उल्लेख गरे । ‘साधारणसभाले निर्देश नै नगरेको काममा हामी अगाडि बढ्दैनौं ।’ उनले फेरि प्रष्ट्याउँदै भने–‘एनआइसी एशिया बैंक तत्काल कोहीसँग पनि मर्जरमा जाँदैन ।’