काठमाण्डौ । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ६५ करोड खूद मुनाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा आर्जन भएको खूद मुनाफा अघिल्लो वर्षको तुलनामा वार्षिक विन्दूगत आधारमा १० प्रतिशतले बढी हो । 

पूँजीकोषअनुपातका कारण थप लगानी गर्न नसक्ने अवस्थामा पुगेको बैंकले भएकै विजिनेशबाट १० प्रतिशतले नाफा बढाउने सफलता प्राप्त गरेको हो । 

समीक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ४०.२२ आर्जन गर्ने सफलता पाएको छ । 

स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । 

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा चमात्कारिक ढंगले ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको देखिन्छ । 

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका अन्य वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को चौथो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१४.३१ अर्ब पुर्याउन बैंक सफल भएको छ । 

आ.व. २०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गरी कुल ग्राहक संख्या ३८ लाख बढी पुगेको बैंकले विज्ञप्तिमार्फत दाबी गरेको छ । 

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।