काठमाण्डौ । एनआईसी एशिया बैंक सबै आर्थिक सूचकतर्फको प्रगतिमा अन्य बैंकभन्दा अगाडि देखिएको छ । 

यो बैंक साधारणसभा आह्वान, निक्षेप तथा कर्जा बिस्तार, बचतमा ब्याजदर, सेयरमा ऋण परिचालन, शाखा बिस्तार लगायतमा अन्य बैंक भन्दा अगाडि देखिएको हो । 

यो बैंकले आउँदो भाद्र ३० गते विहान ९ बजे कार्की ब्याङक्वेट, बबरमहलमा आफ्नो २० सौं बार्षिक साधारणसभा आह्वान गरेको छ । यससँगै आ.व. २०७३/७४ को लागि सबैभन्दा अगाडि साधारणसभा बोलाउने पहिलो बैंक भएको छ ।

साधारण सभामा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको छ । 

यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ । 

साथै, गत आर्थिक बर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ । 

बैंकले आफ्ना सेवाग्राहीको सर्वोपरि हितलाई मध्यनजर गर्दै कर्जा तथा बचत योजनाहरु सञ्चालन गरिरहेको बताएको छ । बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर हो । यसैगरी, बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । 

बैंकले शाखा विस्तारको रफ्तारलाई गत बर्ष पनि निरन्तरता दिएको छ । फलस्वरुप गत बर्ष नेपालको बैंकिङ्ग इतिहासमै सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा बैंकले थप गरेको छ । तीब्र शाखा विस्तार सँगै हाल १२१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् बैंकले विभिन्न बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।