काठमाण्डौ । करिब तीन महिनाअघि कार्यान्वयमा आएर छोटो अवधिमै बन्द भएको एनआइसी एशिया बैंकको लोकप्रिय ‘धनवर्षा मुद्धती निक्षेप योजना’ पुनः संचालनमा ल्याइएको छ । 

बैंकले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी धनवर्षा मुद्धती निक्षेप योजनाको अफर पुनः सुरु भएको प्रष्ट पारेको हो । 

यो अफरअन्तर्गत बैंकले बचतकर्तालाई मासिक रुपमा ब्याज भुक्तानीसहित वार्षिक १२ प्रतिशत ब्याज उपलब्ध गराउनेछ । 

‘धनवर्षा मुद्दती निक्षेप योजना’प्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याइएको बैंकले जिकिर गरेको छ ।

यसपटक समेत ‘धनबर्षा मुद्दती योजना’बाट बढीभन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकले लाभ उठाउने बैंकले विश्वास गरेको छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआइसी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । साथै एक बर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने बताइएको छ । यसअघिको अफरमा भने मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने भनिएको थियो । 

एनआइसी एशिया निजी क्षेत्रका बैंकहरुमध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तीय विवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठूलो बैंकको रुपमा स्थापित भइसकेको छ । 

हालसम्ममा बैंकको शाखा सञ्जाल २१८ शाखा रहेका छन् भने २१० एटिएम सहित मुलुककै सबैभन्दा ठूलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भइसकेको छ । समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढी रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरी)सहित ५,९५१भन्दा बढी भौतिक सञ्जालमार्फत बैंकिङ्ग  सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भएको छ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३३.७२ अर्ब निक्षेप संकलन गरी १०८.९६ अर्ब कर्जा परिचालन गरेको थियो । 

यो अवधिसम्म बैंकमा खराबकर्जा अनुपात ०.२२ प्रतिशत, पूँजी पर्याप्तता अनुपात १३.०३ प्रतिशत पूँजी एवम् निक्षेप र कर्जाको अनुपात ७८.१६ प्रतिशत र तरलता अनुपात २०.४२ प्रतिशत रहेको थियो ।