काठमाण्डौ । नेपाल सरकारले आगामी ३ वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा आवश्यकताअनुसार विद्युत उपलब्ध गराउने भन्ने नीति लिएको छ। सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासबाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउन संभव हुन्छ ।

यसै सन्दर्भमा सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको निमित्त  कात्तिक १८ गते सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र एनआइसी एशिया बैंकबीच बैकिङ साझेदारीका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसि एशिया बैंकको तर्फबाट का.मु प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम एनआइसी एशिया बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैंकिङ स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ । यस सम्झौतामार्फत  समुदायको बैंकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।