काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ। 

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २२१.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १७ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २२९.२० प्रतिशतले बढेर ८४ करोड ७२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २५ करोड ७३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १७५.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४७ करोड ७७ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा संस्थाले १५ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ५ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि २३३.५६ बढेर ९३ करोड ५२ लाख उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २८ करोड ३ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३२.४७ रुपैयाँ रहेको छ। पीई रेसियो ४७.५८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५३.८४ रुपैयाँ रहेको छ।