काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्।

संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयअनुसार फागुन ५ गतेबाटै लागू हुने गरी राठी र भारीलाई  संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएको थियो। संस्थाको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मका लागि राठी र भारीलाई नियुक्त गरेको हो। यस साथै सोही बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्थाबमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई अध्यक्ष चयन गरिएको थियो। उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंकका तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए। 

नवनियुक्त अध्यक्ष राठीले फागुत ८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका थिए। सञ्चालक भारीले अध्यक्ष राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका थिए। 

राठी र भारी हाल एनआई एशिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन्। राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेलेसञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए। यसका साथै राठी र भारीको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरुमाझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाका रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको उनले बताए। 

संस्थाले स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ। आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्थाप्रतिको भरोसाले गर्दा संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखेको छ। चालु आ.व. २०७९–८० को दोस्रो त्रयमासको अन्त्यसम्ममा संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ। राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्थाका रुपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ। 

यसका साथै संस्थाले पछिल्लो समयमा अग्निपीडित परिवारहरुलाई खाद्यान्य तथा सामग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोगलगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफूलाई स्थापित गर्दै आएको छ। यसका साथै संस्थाले ग्राहक सदस्यको स्थायित्व, प्रगति तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वका लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवर्द्धनमा नियमित रुपमा लाग्दै स्थापना देखि हाल सम्म ग्राहक संरक्षण कोषबाट रु ३ करोड भन्दा बढी खर्च गरिसकेको छ।

‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित भइरहेको छ। 

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्नेछ।