काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन गरेको छ।

विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरतासम्बन्धी र्‍याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाइ गरेको थियो। जसमा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरुमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रम परासीको हाटबजारबाट सुरु भई बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो। 

यसरी वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्डसहित भएको उक्त र्‍याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापनजस्ता कुराहरुमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको एनआईसी एशिया लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एन्ड क्वालिटी एस्युरेन्स इकोसिस्टम अर्जुन श्रेष्ठले बताए। उनले कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे। 

“साथी सँगै सबल बन्दै” भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल, सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित भइरहेको छ। त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्ताले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुसहित नेपालभर आफ्ना २८७ शाखामार्फत २ लाखभन्दा बढी न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सोहीअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाएको छ।