काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले नेपाल काठमाण्डौमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई ५ लाख रुपैयाँबराबरको खाद्यसामग्री वितरण गरेको छ। 

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरुसमेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँगको सहकार्यमा आइतबार चामल, तेल, नुन, दाललगायतका खाद्यसामग्री वितरण गरेको हो। एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई उक्त खाद्यसामग्री हस्तान्तरण गरेका हुन्। 

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यसामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास लिएको छ। 

यस विपतको घडीमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सै घन्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गरेको छ। ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङजस्ता विद्युतीय माध्यमबाट ग्राहकले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्थासमेत बैंकले गरेको छ। 

उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। ग्राहकले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानीसमेत निःशुल्क उपलब्ध छन्। 

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डबाहकले एनआईसी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।