काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले सम्पूर्ण ऋणको ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट दिने भएको छ।

नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १६ गते कोरोनाभाइरसबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न गत चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै बैंकले त्यसका अलावा ऋणीहरूले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकसमक्ष ल्याएको हो। उक्त योजना अत्यन्त लोकप्रिय भएको बैंकले जनाएको छ।  

यो महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ अभ्यासलाई थप मजबुद पार्दै बाँचौँ र बचाऔँ भन्ने अभियानमा केन्द्रित हुँदै बैंकले आषाढ महिनाका लागिसमेत ब्याज तथा नवीकरण शुल्क सम्बधमा अत्यन्त आकर्षक योजना ल्याएको छ। बैंकले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्मा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिने जनाएको छ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । 

हाल ९.९९ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकको हकमा भने विद्यमान व्यवस्थाअनुसार नै ब्याजदर कायम रहने बैंकले जनाएको छ । त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले प्रस्ट्याएको छ। 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको छ । 

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाका लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको स्पष्ट पारेको छ । यसले गर्दा ग्राहकको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिका कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । नेपालको बैंकिङ क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीलाई लाभ लिन बैंकले अनुरोध गरेको छ। 

यस बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकको खातामा वैशाख महिनामै जम्मा गरिसकेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले घोषणा गरेको योजनामा सहभागी भई वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्नेे ग्राहकको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेठ महिनाको पहिलो साताभित्रै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको बैंकले स्पष्ट पारेको छ।