काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडको व्यवस्थापनमा संचालित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ । 

पाँच वर्षे बन्दमुखी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१को असोज मसान्तसम्मको न्याभ १४.४७ रुपैयाँ कायम भएको हो । भदौ मसान्तसम्म यो  स्किमको न्याभ १४.३१ रुपैयाँ थियो । 

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ६५ करोड ६४ लाख लगानी गरेको छ भने ऋणपत्रमा १ करोड ४० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ४ करोड ९४ लाख र स्थिर आय उपकरणमा १२ करोड ५० लाख लगानी गरेको छ । न्याभ बढे पनि असोज मसान्तसम्म यो स्किम घाटामा छ । यो अवधिसम्म स्कीम ५१ लाख ७६ हजार घाटामा छ । भदौ मसान्तसम्म यस्तो घाटा १ करोड ७१ लाख रहेको थियो । 

यो स्किमले समीक्षा अवधिसम्म ६८ कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै कित्ता नेपाल दूरसंचार कम्पनी लिमीटेडको ४४ हजार २ सय ९५ कित्ता खरीद गरेको यो स्किमले रकमको हिसाबले सबैभन्दा धेरै लगानी पनि दूरसंचारमै गरेको छ । जहाँ यो स्किमले ३ करोड ४५ लाख लगानी गरेको छ । 

उता, ७ वर्षे बन्दमुखी स्किम एनएमबी हाइब्रीड फण्ड एल १ को खूद सम्पत्ति मूल्य पनि बढेको छ । भदौ मसान्तसम्म प्रति इकाई खूद सम्पत्ति मूल्य १०.४६ रुपैयाँ रहेकोमो बढेर असोज मसान्तसम्म १०.५५ रुपैयाँ कायम भएको हो । 

यो अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ३१ करोड ९६ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा २ करोड ३५ लाख लगानी गरेको छ । यस्तै, स्थिर आय उपकरणमा ५४ करोड लगानी गरेको छ । 

यो स्किम भदौ मसान्तसम्म ५५ लाख नाफामा छ । भदौ मसान्तसम्म ३८ लाख घाटामा थियो । 

समीक्षा अवधिसम्म यो स्किमले ४२ कम्पनीको सेयरमा लगानी गरेकोछ । नेपाल दूरसंचार कम्पनी लिमीटेडको ४४ हजार ८ सय ५ कित्ता सेयर खरीद गरेको यो स्किमले रकमको हिसाबले सबैभन्दा बढी  लगानी पनि दूरसंचारकै सेयरमा ३ करोड ४९ लाख लगानी गरेको छ ।