काठमाण्डौ । एनएमबी माइक्रो फाइनान्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो वर्ष सोही अवधिमा १ करोड २१ लाख नाफा कमाएको यो संस्थाले यो वर्ष २ करोड ७ लाख नाफा आर्जन गरेको हो । 

खूद ब्याज आम्दानी ३ करोड ३६ लाखबाट वृद्धि भई ६ करोड ५४ लाखको उचाईमा पुुगेको छ । यो अवधिमा यो माइक्रो फाइनान्सले २७ करोड ९२ लाख निक्षेप संकलन गरी १ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । ठूला बैंकबाट कर्जा सापटी लिएर माइक्रो फाइनान्सले कर्जा प्रवाह गर्ने हुँदा निक्षेप कम देखिएको हो । अघिल्लो वर्ष १३ करोड ३२ लाख निक्षेप संकलन गरी ७२ करोड ७५ लाख कर्जा प्रवाह भएको थियो । 

यो माइक्रो फाइनान्सको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ५२ रुपैयाँ ६२ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर यो वर्ष ४४ रुपैयाँ ४७ पैसामा झरेको हो । यो कम्पनीले २५ प्रतिशत बोनस सेयर र १२० प्रतिशत हकप्रद वितरण गरेका कारण प्रति सेयर आम्दानीमा गिरावट देखिएको हो । प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ३४.९७ गुणा कायम भएको छ । 

यो माइक्रो फाइनान्सको चुक्तापूँजी ९ करोड ३१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड २२ लाख रुपैयाँ छ ।