काठमाण्डौ । गत वर्ष वाणिज्य बैंकहरुमध्ये सबैभन्दा राम्रो रिटर्न दिएको एनएमबी बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १ अर्ब ४२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ। 

यो बैंकको प्रिमियममा १२ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा बैंकले यो वर्ष सेयरधनीलाई ११ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्छ । 

अघिल्लो वर्ष यही अवधिमा २ अर्ब २५ करोड रुपैयाँ रहेको नाफा बढेर यो वर्ष २ अर्ब २७ करोडको उचाई चुमाउन बैंक व्यवस्थापन सफल भएको छ ।

समीक्षा अवधिमा बंैकको संचालन मुनाफा भने घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब २४ करोड रहेको यस्तो मुनाफा घटेर यो वर्ष २ अर्ब ४३ करोडमा सीमित बन्न पुगेको छ । 

यस्तै, अघिल्लो वर्ष ४ अर्ब २४ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर बैंकले ५ अर्ब ५२ करोडको उचाई चुमाएको छ ।

समीक्षा अवधिमा बैंकले रिजर्बको आकार ३ अर्ब ४९ करोडबाट ५ अर्ब ८३ करोड पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ३१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९७ अर्ब ८९ करोड बढी निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.७३ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १८.७९ रुपैयाँ थियो । 

अघिल्लो वर्ष ०.८२ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर यो वर्ष २.६८ प्रतिशत पुगेको देखिएको छ भने सीसीडी रेसियो पनि सामान्य घटी ७२.६८ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

असार अन्तिमसम्ममा बैंकको बेस रेट घटेर ८.९५ प्रतिशतमा सीमित बन्न पुगेको छ भने यो अवधिमा रिटर्न अन इक्वीटी १०.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष रिटर्न अन इक्वीटी १३.३२ प्रतिशत थियो । एभरेज इल्ड १०.६७ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.३२ प्रतिशत, पीई अनुपात २३.२७ गुणा, प्रतिसेयर नेटवर्थ १४९.५७ रुपैयाँ कायम भएको छ ।