काठमाण्डौ । नेपाल बैंकर्स संघले आफूहरुबीचको भद्र सहमतिविपरीत एनआइसी एशिया बैंकले बचत र मुद्धती खातामा ब्याजदर वृद्धि गरेको आरोप लगाउँदै उसलाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध लगाउन गरेको निर्णय अहिले चर्चामा छ । यही बेला एनबिएले यस्तो निर्णय गर्नु ठीक हो या होइन भन्ने बहस समेत सुरु भएको छ । 

एनबिएले ६ दिनअघि एक बैठक डाँकेर बचत र मुद्धतीमा दिने ब्याजको अन्तर केही बैंकहरुको निकै न्यून रहेको भन्दै यसलाई केही फराकिलो बनाउने निर्णय गरेको थियो । सो बेला एनबिएले बचत र मुद्धती खातामा दिने ब्याजको कुनै सीमा निर्धारण गरेको थिएन । यसको त्यसबेलै एनबिएका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बिजशालासँगको कुराकानीमा पुष्टि गरेका थिए । 

त्यसबेला उनले बिजशालासँग भनेका थिए–‘हामीले बचत र मुद्धतीमा यति नै ब्याज दिनुपर्छ वा यतिभन्दा बढ्नुुहुँदैन भन्ने कुनै सहमति गरेका छैनौ । अन्तर थोरै राख्नुुभएन भन्ने हो, स्वभाविक बैकिङ गर्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका हौ ।’

उनले सो बेला कसैले बचतमा धेरै ब्याज दिएको भए घटाउँदा हुने र कसैले कम दिएको भए बढाउँदा हुने सहमति भएको प्रष्ट रुपमा भनेका थिए । ‘पछिल्लो समय केही बैंकको मुद्धती र निक्षेपको ब्याजदरको अन्तर १ प्रतिशतसम्म देखिएको छ, यो स्वभाविक रेट होइन ।’ ढुंगानाले भनेका थिए–‘स्वभाविक रुपमा बजारले ब्याजदर निर्धारण गर्दै गयो भने हामी हस्तक्षेप गर्दैनौ, अस्वभाविक देखिए चूप लागेर बस्दैनौ । शुक्रबारको बैठकले अस्वभाविक बजारलाई स्वभाविक बनाउन मात्र खोजेको हो ।’

उनले सो बेला कुनै पनि बैंकलाई समय तोकेरै ब्याजदर घटाउन नभनिएको स्पष्ट पार्दै थपेका थिए–‘ उदाहरणका लागि कसैले बचतमा १० प्रतिशत दिएर मुद्धतीमा १३ प्रतिशत दिन्छुु भने पनि पाउँछ । तर, उसले मुद्धतीमा १३ प्रतिशत ब्याज दिएर लगानी कतिमा गर्ला भन्ने कुरा पनि पक्कै सोच्ला नै ।’

ढुंगानाको भनाईमा १० प्रतिशत बचतमा ब्याज दिइरहेकाहरुले घटाउनैपर्ने बाध्यता थिएन । त्यस्ता बैंकहरुले मुद्धती निक्षेपमा दिइरहेको ब्याज आफूअनुकुल बढाएर समेत ब्याजदर अन्तर बढाउन पाउने उनको आशय थियो । 

समग्र निक्षेप नबढेको अवस्थामा धेरै ब्याज दिने होडबाजीले बैंकहरुबीच फेरि निक्षेप तानातानको अवस्था हुने र यसले समग्र प्रणाली नै अस्थिर बनाइदिने भन्दै एनबिएले गम्भीर बनिदिन सो बेला आग्रह गरेको थियो । एनबिए अध्यक्ष ढुंगानाले सो बेला बिजशालासँग गरेको टेलिफोन कुराकानीको अडियो रेकर्ड बिजशालासँग सुरक्षित छ ।

अब के त ?
यसरी एनबिए अध्यक्ष आफैंले बचत र मुद्धतीको ब्याजदरको अन्तर धेरै साँघुरो हुन नहुने भन्दै सीमा नतोकिएको स्पष्ट पारेको अवस्थामा एनआइसी एशियालाई बचतमा १० र मुद्धतीमा १२ प्रतिशत ब्याज दिने अफर गर्यो भन्दैमा अन्तरबैंक कारोबार नगर्ने आकस्मिक निर्णय गराउनुु कतिसम्म न्यायसम्मत हुनसक्ला ? बहसको बिषय बनेको छ । 

यो बिषयमा अध्यक्ष ढुंगानासँग बुुझ्दा उनले एनआइसी एशियाको आक्रामक शैलीले प्रणालीगत जोखिम ल्याउने भएकोले यस्तो कदम उठाइएको दाबी गरे । 

एनआइसी एशिया बैंकका एक अधिकारीले भने यो बैंकसँग प्रतिस्पर्धा गर्न नसक्नेहरुले गलत ढंगले निर्णय गरेर बैंकको इमेज खराब गर्ने काम गरेका आरोप लगाए । उनले एनबिएको निर्णय विरोधाभासपूर्ण रहेको उल्लेख गर्दै यसले खुल्ला बजार प्रतिस्पर्धाको गलत अभ्यासको सुरुवात गरेको दाबी गरे । एनआइसीले एनबिएको गलत निर्णयलाई नमान्ने र आफ्नो व्यवसाय वृद्धिको पूर्वनिर्धारित योजना जारी रहने प्रष्ट पारेको छ । 

यो समाचार पनि पढ्नुहोस्:

बचतमा ब्याजदरको सीमा तोकिएको होइन, यस्तो छ बैंकरबीचको सहमतिको यथार्थ