काठमाण्डौ । समयसीमाभित्रै सकेसम्म मर्जर पार्टनरसहित र नसकेमा मर्जरका लागि प्रतिबद्धतासहितको पत्र सबै वाणिज्य बैंकहरुले राष्ट्रबैंकलाई पठाउने भएका छन् । 

नेपाल बैंकर्स संघले मंगलबार बिहान आह्वान गरेको पूर्ण बैठकमा बैंकरहरुबीच यस्तो सहमति बनेको हो । 

राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई उपयुक्त मर्जर पार्टनरसहित लिखित प्रतिबद्धता सात दिनभित्र पठाउन यसअघि निर्देशन दिएको थियो । केन्द्रीय बैंकको म्याद बिहीबार सकिँदैछ । बिहीबारभित्र नै वाणिज्य बैंकहरुले लिखित प्रतिबद्धता पठाउने सहमति भएको हो । 

‘मर्जर पार्टनर भेटिसकेकाहरुले सो कुरा खुलाएर राष्ट्रबैंकलाई पत्र लेख्ने कुरा भयो ।’ बैठकमा सहभागी एक बैंकरले भने–‘पार्टनर भेटिनसकेकाहरुले राष्ट्रबैंकको ‘बिग मर्जर’ नीतिप्रति हामी प्रतिबद्ध छौ र त्यसका लागि मर्जर कमिटीहरु गठन गरेका छौ भन्ने विषय उल्लेख गरी लिखित प्रतिबद्धतापत्र पठाउने कुरा भयो ।’ 

बैठकमा केही बैंकहरु मर्जर सम्झौताको अन्तिम तयारीमा रहेका विषय पनि छलफलमा आएको थियो । सो क्रममा प्राइम कमर्सियल बैंक, सेञ्चुरी बैंक, मेगा बैंक लगायतका वाणिज्य बैंकहरु मर्जर सम्झौताको अन्तिम तयारीमा रहेका बताइएको थियो । यी बैंकहरुले कुन–कुन बैंकसँग मर्जर सहमति गर्न लागेका छन् भन्ने कुरा चाहि त्यहाँ भनिएन ।

बैठकमा मर्जरका लागि लिखित प्रतिबद्धतासहित सबै वाणिज्य बैंकहरुले छुट्टा छुट्टै रुपमा स्वस्फूर्त मर्जरका लागि प्रोत्साहित गर्ने हिसाबले के के कुरामा सहुलियत चाहिन्छ भन्ने बिषय पनि लेखेर पठाउने निर्णय भएको छ। 

‘पुससम्म स्प्रेड दर ४ प्रतिशत कायम गर्ने कुरा थियो, यसमा सहुलियत माग्न सकिन्छ भन्ने कुरा उठ्यो ।’ स्रोतले भन्यो–‘सीसीडी अनुपात, आयकरमा छुट, प्राथमिकताप्राप्त क्षेत्र तथा विपन्न वर्गमा प्रवाहित हुने कर्जाको लक्ष्य पूरा नगर्दा लाग्ने जरीवानामा छुट लगायतका विषयमा समेत सहुलियत माग्ने विषयमा सबैको सहमति बन्यो ।’ 

बैठकमा सहभागी अधिकांश सीइओहरुको राष्ट्रबैंकले फोर्स मर्जरमा जान नहुने, बरु सहुलियतहरु दिएर मोटिभेसन मर्जरको मोडालिटीमा जानुपर्नेमा एकमत थियो । ‘राष्ट्रबैंकले नै स्वस्फूर्त मर्जरमा जाने वातावरण बनाउनुपर्छ भन्ने विषयमा सबै सहमत भयौं ।’–अर्का एक सीइओले बिजशालासँग भने । 

बैठकमा सहभागी कतिपय बैंकरहरुले केन्द्रीय बैंकले मलेशियामा भएको ‘बिग मर्जर’को उदाहरण दिंदै त्यस्तै मोडालिटी यहाँ लागू गर्न खोजेको हो भने त्यो सफल हुन नसक्ने विश्लेषण समेत गरेका थिए । ‘हाम्रो भूगोल नै फरक छ, यहाँ अरु देशको मोडालिटी भन्दा हाम्रो माटो र हावापानी सुहाउँदो बिग मर्जर मोडालिटी आउनुपर्छ ।’–बैंकरहको विश्लेषण उद्धृत गर्दै स्रोतले भन्यो ।