काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुबीचको भद्र सहमतिविपरीत नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले निक्षेपको ब्याजदर बढाएको छ । 

कात्तिक १ गते(भोलि)देखि लागू हुने गरी एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसमा निक्षेपको ब्याजदर बढाइएको छ । 

एनसीसी बैंकले व्यक्तिगततर्फ ३ महिने वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत तोकेको छ । 

यस्तै, संस्थागततर्फ ३ महिनादेखि माथिको ब्याजदर १०.५५ प्रतिशत तोकिएको छ । 

विदेशी मुद्राको मुद्दति निक्षेपको ब्याजदर भने आपसी समझदारीमा तय गरिने उल्लेख छ । 

मुद्दति निक्षेपसँगै बैंकले बचत खाताको ब्याजदर समेत वृद्धि गरेको छ । बचततर्फ अधिकत ६ प्रतिशत ब्याज पुगेको छ । 

असोजमा भने एनसीसी बैंकको ब्याजदर केही कम थियो । तीन महिने वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.२६ प्रतिशत थियो भने व्यक्तिगत मुद्दतितर्फ ३ महिनादेखि २ वर्ष अवधिको निक्षेपको ब्याजदर ८.७५ प्रतिशत तथा २ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत तोकिएको थियो । 

असोजमा एनसीसीले बचतमा अधिकत ५ प्रतिशत ब्याज दिएको थियो । 

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का केही नेतृत्वकर्ता बैंकरबीच ब्याजदर सिंगल डिजीटमा सीमित गर्ने भद्र सहमति भएको थियो । तर, यो सहमतिविपरीत एनसीसी बैंकले डबल डिजीटको ब्याजदर सार्वजनिक गरेको हो । एनसीसीले ब्याजदर बढाएसँगै अब राष्ट्रिय स्तरका विकास बैंकहरुको मुद्दति निक्षेपतर्फको न्यूनतम ब्याजदर १०.५ प्रतिशतसम्म हुने देखिएको छ ।