काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले आगामी २ वर्षभित्र नाफा बढाएर १ अर्ब ८३ करोड माथि पुर्याउने प्रक्षेपण गरेको छ । 

बैंकले हकप्रद सेयरका लागि प्रकाशित गरेको विस्तृत आह्वानपत्रमा यस्तो प्रक्षेपण देखिएको हो । 

बैंकले आर्थिक वर्ष २०७४/७५ मा ९० करोड ३९ लाख खूद नाफा आर्जन हुने समेत सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा नाफा बढेर १ अर्ब ५५ करोड पुग्ने र आ.ब. ०७६/७७ मा अझ बढी १ अर्ब ८३ करोडको उचाईमा पुग्ने बैंकको प्रक्षेपण रहेको छ। 

बैंकको आ.ब. २०७४/७५ को प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ कायम हुने बताइएको छ भने ०७५/७६ मा १९.४६ रुपैयाँ तथा ०७६/७७ मा २२.९८ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ९६ करोडमा सीमित हुने संचालन आम्दानीलाई बढाएर ०७५/७६ मा २ अर्ब ६२ करोड र त्यसपछिको वर्ष ४ अर्ब ३० करोड पुर्याउने बैंकको लक्ष्य देखिन्छ । 

अघिल्लो वर्ष ६१ अर्बको हाराहारीमा निक्षेप संकलन गरेको बैंकले चालु आर्थिक वर्षको अन्तसम्म ७४ अर्ब र ०७६/७७ मा ९५ अर्ब माथि पुर्याउने प्रक्षेपण समेत गरेको छ । 

अघिल्लो आ.ब.को वित्तीय विवरण आउँदा यो बैंकको जगेडा कोषको आधार ३ अर्ब ४६ करोडको हाराहारीमा आउनेछ । जगेडा कोषलाई चालु आबको अन्तसम्ममा बढाएर ४ अर्ब र त्यसपछिको अर्को वर्षको समाप्तिसम्म ६ अर्बको हाराहारीमा पुर्याउने बैंकले जनाएको छ । 

आर्थिक वर्ष ०७४/७५ मा ११.१० प्रतिशत रहने नेटवर्थमा औसत प्रतिफल चालु आबको अन्तपछि १२.९४ प्रतिशत हुने र त्यसपछिको वर्ष १३.२५ प्रतिशत हुने प्रक्षेपण समेत गरिएको छ ।