काठमाण्डौ । एनसीसी बैंकको छुट्टै युनिटको रुपमा संचालित एनसीसी बैंक अवकाश कोषले आफ्ना ग्राहक कर्मचारीलाई सञ्चित बचतको ७० प्रतिशत लाभांश वितरण गरेको छ । 

कोषले गत २०७५ आषाढ मसान्तसम्मको सञ्चित बचतबाट ७० प्रतिशतले हुन आउने रकम रु. ३ करोड ६२ लाख ७० हजार रुपैयाँ आफ्ना करिब २०० बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरुलाई वितरण गरेको हो । 

कोषले सोही अवधिको सञ्चित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांशरकम निजहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको बताइएको छ ।

कोषले विगत वर्षहरुमा पनि आफ्नो सञ्चित बचत(सरप्लस) रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै सबै ब्यक्तिगत सञ्चयकर्ताहरुका लागि प्रत्येक वर्ष रु. १५ हजारसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आइरहेको छ । 

नेपाल क्रेडिट एण्ड कमर्श बैक लिमीटेडअन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्षदेखि छुट्टै यूनिटको रुपमा संचालित एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १२२ शाखाहरु मार्फत सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, सञ्चित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई सञ्चित कोष रकम फिर्ता भुक्तानी दिनेजस्ता कार्यहरु गर्दै आइरहेको छ ।