काठमाण्डौ । मुद्धै मुद्धाको चाङले लाभांशको विषयमा लामो समयदेखि अनिर्णित नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आगामी बाटो केही सहज हुने देखिएको छ । 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा निकै राम्रो प्रगति गरी नाफा समेत १ अर्ब १६ करोड भन्दा बढी आर्जन गरेर आफूलाई सुधारको बाटोमा अगाडि बढाएको बैंकलाई लाभांश वितरण तथा अन्य महत्वपूर्ण निर्णय गर्ने बाटो खुल्ने गरी पाटन उच्च अदालतले मंगलबार आदेश दिएको छ । 

चारवटा विकास बैंकलाई गाभेर अगाडि बढेको एनसीसी बैंकविरुद्ध सोही बैंकको संस्थापक सेयर होल्डरको रुपमा रहेको एनबी ग्रुपले लाभांश घोषणामा रोक लगाउनुपर्ने, एपेक्स डेभलपमेन्ट बैंकसँगको मर्जर सम्झौता खारेज हुनुपर्ने लगायतका ६ वटा मुद्धा दायर गरेको थियो । 

एनसीसीविरुद्ध परेका ६ वटै मुद्धा पाटन उच्च अदालतले खारेज गरिदिएको हो । 

उच्च अदालतका मुख्य न्यायाधीश कुमार चूँडाल र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एनबी ग्रुपसँग सम्बद्ध एनबी ग्रुप नेपाल प्रालि, एनबी इन्भेष्टमेन्ट प्रालि, एनबी मार्केट प्रालि, जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र सांग्रीला इन्भेष्टमेन्ट प्रालिबाट दायर सबै मुद्धा खारेजीको फैसला सुनाएको हो । 

यो फैसलासँगै मुद्धाहरुको चाङका कारण आर्थिक वर्ष ०७२ ७३ देखि नै लाभांश वितरण गर्न नसकेको बैंकलाई लाभांश सम्बन्धी निर्णय गर्न सहज भएको छ ।  हालै मात्र ५० प्रतिशत हकप्रद बिक्री गरी ७ अर्ब १ करोड ८५ लाख चुक्तापूँजी पुर्याएको यो बैंकले कम्तीमा १ अर्ब बराबरको बोनस सेयर वितरण गर्नेछ । 

कुनै बेला समस्याग्रस्त बनेको एनसीसी बैंकमा केही समयसम्म राष्ट्रबैंकले व्यवस्थापन सम्हालेको थियो । 

केन्द्रीय बैंकबाट लक्ष्मीप्रपन्न निरौला(हाल प्रवक्ता)को नेतृत्वको टिमले समस्याग्रस्त एनसीसी बैंकको व्यवस्थापन सुधारेर एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई एनसीसीमा बिलय गराई बैंकलाई व्यवस्थापन जिम्मा लगाएको थियो । 

एपेक्स डेभलपमेन्ट बैंकको तत्कालीन टिमले कर्जा प्रवाह गर्दा घोटाला गरेका र धेरै फट्याई गरेका भन्दै एनबी ग्रुपले यो बैंकसँग डिमर्ज नै हुनुपर्ने माग उठाउँदै आएको थियो । उसका अन्य माग समेत बैंकलाई अगाडि बढ्न नदिने खालका थिए । 

अदालतको फैसलापछि अब लाभांश वितरणसँगै थाँती रहेका अन्य महत्वपूर्ण निर्णय गर्ने बाटो समेत खोलिएको बैंकको उच्च व्यवस्थापनले जनाएको छ । 

मंगलबार राति बिजशालासँग कुरा गर्दै बैंकका एक उच्च अधिकारीले भने–‘अब बोनस सेयरबाटै तोकिएको ८ अर्ब पूँजी पुर्याउन हामीलाई सहज भएको छ । बैंक अब अझै तीव्र गतिमा दौडिन्छ ।’