काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई १९.५५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

यो बैंकले समीक्षा अवधिमा १ अर्ब १९ करोड वितरणयोग्य मुनाफा आर्जन  गरेको हो । बैंकको सेयर प्रिमियम १७ करोड २४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको चुक्तापूँजी ७ अर्ब १ करोड रहेको छ । यो हिसाबले वितरणयोग्य मुनाफा र सेयर प्रिमियम जोड्दा बैंकले १९.५५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

बैंकले अघिल्लो वर्ष १ अर्ब ३४ करोडमा सीमित नाफालाई बढाएर १ अर्ब ५२ करोडको उचाई चुमाएको छ भने १ अर्ब ७८ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब १५ करोड पुर्याएको छ । 

अघिल्लो वर्ष १ अर्ब ६१ करोडमा सीमित खूद ब्याज आम्दानीलाई निकै आक्रामक ढंगले बढाएर बैंकले ३ अर्ब ८ करोडको उचाई चुमाएको छ ।

यसरी खूद ब्याज आम्दानीमा बैंकले ९१.४८ प्रतिशतको छलाङ हानेको देखिएको छ । 

समीक्षा अवधिमा एनसीसी बैंकले ६७ अर्ब ३ करोड बढी निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५७ अर्ब २६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ४३ करोड बढी कर्जा परिचालन गरेको थियो । 

बैंकले अघिल्लो वर्ष ३.८७ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर २.७८ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएको छ । 
अघिल्लो वर्ष ३ अर्ब ६१ करोड रहेको रिजर्बको आकारमा संकुचन आई ३ अर्ब ५९ करोडमा सीमित बन्न पुगेको छ । 

बैंकले आफ्नो कस्ट अफ फण्डलाई ८.२७ प्रतिशत रहेकोमा घटाएर यो वर्ष ७.४९ प्रतिशतमा सीमित गरेको छ भने सीडी रेसियो ७३.८४ प्रतिशतको सुविधाजनक अवस्थामा रहेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको आधार दर १०.२३ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २३.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४३ गुणा कायम भएको छ ।