काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म १ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ ।

यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु. १७ करोडले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १ अर्ब १० करोड थियो । 

चुक्तापूँजी १० अर्ब ३१ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा भने ७१ करोड ४७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ६७ करोड रहेको संचालन मुनाफा २० करोडले बढेर १ अर्ब ८७ करोडको उचाईमा पुगेको छ भने ३ अर्ब २० करोड ९५ लाख रहेको खूद ब्याज आम्दानी ३ अर्ब २० करोड १० लाखमा सीमित भएको छ । यसरी खूद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८५ लाख रुपैयाँले कमी भएको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रहेको रिटेन अर्निंग घटेर यो वर्ष ७५ करोड २८ लाखमा सीमित बन्न पुगेको छ भने २ अर्ब ७५ करोडमा सीमित रिजर्बको आकार बढेर ३ अर्ब ५१ करोड पुगेको छ । 

समीक्षा अवधिसम्म एनसीसी बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ५३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म एनसीसी बैंकले ७२ अर्ब ८१ करोड निक्षेप संकलन गरी ६५ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कोरोनाकालमा पनि एनसीसी बैंकले खराब कर्जाको अनुपात घटाएको छ । अघिल्लो वर्षको यही अवधिमा २.८६ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.७८ प्रतिशतमा सीमित भएको छ भने १०.७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी(इपीएस) सामान्य बढी रु. १२.३२ पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकको कस्ट अफ फण्ड ५.६२ प्रतिशत, सीडी रेसियो ७८.१४ प्रतिशत, आधार दर ७.५७ प्रतिशत, पीई अनुपात २९.७८ गुणा, प्रतिसेयर नेटवर्थ १४१.४० रुपैयाँ, तरलता अनुपात २६.५७ प्रतिशत कायम भएको छ ।