काठमाण्डौ । अमेरिकाको टप हाइटेक कम्पनी एप्पलले प्रत्येक त्रैमासतर्फको प्रगतिमा हालसम्मकै रेकर्ड ब्रेक गर्दै आर्थिक वर्ष २०१६–१७ को चौथो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । 

सिएनएनका अनुसार गत  वर्षको चौथो त्रैमासमा उसको आम्दानी १२ प्रतिशतले बढेको हो ।

सिलिकन भ्यालीमा रहेको एप्पलले चौथो त्रैमासमा मात्रै ५२.६ अर्ब डलर आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । 

यो नयाँ रेकर्डका कारण कम्पनीको प्रतिसेयर आम्दानीमा पनि २४ प्रतिशतले बढोत्तरी भएको छ। 

‘२०१७ मा हामीले निकै उत्साहप्रद ढंगले विदाई गर्न पाउँदा निकै खुशी छौ । चौथो त्रैमासमा हालसम्मकै सबैभन्दा बढी आम्दानी भएको त्रैमासको रेकर्ड कायम भयो ।’–एप्पलका सीइओ टिम कुकले भनेका छन् ।

एप्पलले पछिल्लो समय अमेरिकाभन्दा बाहिरका देशहरुमा बजार बिस्तारमा अभूतपूर्व सफलता हासिल गरिरहेको छ । चौथो त्रैमासको हालसम्मकै सर्वाधिक आम्दानीमा पनि ६२ प्रतिशत हिस्सा अन्तराष्ट्रिय आम्दानीले ओगटेको बताइएको छ ।

एप्पलका सिएफओ लुका मेस्टीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार कम्पनीले यो अवधिमा निकै बलियो, १५.७ अर्ब डलरको अपरेटिङ क्यास फ्लो गर्न सफल भएको छ । यो रकमध्ये ११ अर्ब डलर लगानीकर्ताले पाएका छन् । 

एप्पलले सन् २०१८ को पहिलो त्रैमासमा ८४ देखि ८७ अर्ब डलरसम्मको आम्दानी हुने अपेक्षा गरेको छ ।