काठमाण्डौ । विश्वभर आफ्नो आइफोन ह्याण्डसेटका लागि चर्चित एप्पलको सेयर मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दूमा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेस्डेकमा सुरुवाती कारोबारको क्रममा ३.४० प्रतिशतले वृद्धि भई एप्पलको सेयरको मूल्य प्रतिकित्ता १८३ डलरको सर्वाधिक उचाईमा पुगेको हो ।

एप्पलका सेयरधनीहरुलाई कम्पनीमा सेयर बादशाह वारेन बफेटले आफ्नो हिस्सेदारी बढाएका खबरले फाइदा मिलेको हो ।

मिडिया रिपोर्टअनुसार बफेटले २०१८ को पहिलो त्रैमासमा एप्पलको ७.५ करोड कित्ता सेयर थपेका छन् । 

एप्पलको सेयरको मूल्य १८३.५० डलरको सर्वाधिक उचाईमा पुगेको छ । सिएनबिसीको एक रिपोर्टअनुसार एप्पल विश्वकै यस्तो कम्पनी बन्न सक्नेछ, जसको बजार पूँजीकरण १ लाख करोड डलर हुनेछ । हाल एप्पलको मार्केट क्याप(बजार पूँजीकरण) ९२६ अर्ब डलर रहेको छ । रिपोर्टअनुसार सेयरमा २० डलरको वृद्धिसहित कम्पनी १ ट्रिलियन डलरको पहिलो कम्पनी बन्ने बाटोतर्फ अग्रसर रहेको देखिएको छ ।

बफेटसँग एप्पलका २४ करोड सेयर
२०१७ को अन्तसम्म विश्वकै सबैभन्दा ठूला लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कसायर हाथ्वेसँग एप्पलको १६.५३ करोड कित्ता सेयर रहेको थियो । जसको कुल मूल्य त्यसबेला २८ अर्ब डलर रहेको थियो । त्यसबेला वर्कसायर एप्पलको दोश्रो ठूलो होल्डिङ कम्पनी थियो । अब मार्चको समाप्ति क्वार्टरको दौरान ७.५ करोड सेयर  खरीद गरेपछि बफेटको साथमा एप्पलको २४ करोड कित्ता सेयर रहेको छ । यसको  साथै वर्कसायर एप्पलको सबैभन्दा ठूलो होल्डिङ कम्पनी बन्न सफल भएको छ ।

एप्पल शानदार कम्पनी हो: बफेट
बफेटले एक अन्तर्वार्तामा भनेका छन्–‘एप्पल शानदार कम्पनी हो । यदि तपाईले एप्पललाई अझै नजिकबाट नियाल्नुभयो भने मलाई लाग्छ यसले अमेरिकाको दोश्रो सबैभन्दा बढी कमाई गर्ने कम्पनीभन्दा २ गुणा बढी प्रोफिट कमाउनेछ ।’ यहीकारण गत वर्ष समेत उनले अन्य सेयरको तुलनामा एप्पलको सेयर सबैभन्दा बढी खरीद गरेको प्रष्टीकरण समेत दिएका छन् ।