काठमाण्डौ।बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अहिलेसम्मकै शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक गरेको छ ।

कम्पनीले इभेन्टमार्फत् मंगलबार एम थ्री, एम थ्री प्रो र एम थ्री म्याक्स चिपसेट समावेश भएको म्याकबुक प्रो  सार्वजनिक गरेको हो ।

यसअन्तर्गत कम्पनीले टच बार कीबोर्ड नभएको १४ इन्च म्याज बुक प्रो ल्याएको छ । यो मोडेलमा एम थ्री चिप समावेश छन् ।

कम्पनीले नयाँ चिपसेटका साथ आएका म्याकबुकको भित्री पर्फर्मेन्स मात्र नभएर बाहिरको भाग पनि स्तरीय बनाएको उल्लेख गरेको छ । नयाँ चिपसेटसँगै यी ल्यापटको ब्याट्रीको लाइफ पनि सुधार गरिएको बताइएको छ ।

कम्पनीका अनुसार एम थ्री प्रो सिलिकन भएको १६ इन्चको म्याकबुक प्रोको ब्याट्री एक पटकको चार्जमा १२ घण्टासम्म टिक्छ । 

नयाँ मोडेलका म्याकबुकमा तीन ओटा थन्डरबोल्ट १४ पोर्ट, एउटा एचडीएमआई पोर्ट, एसडी कार्ड रिडर र चार्जिङका लागि म्याकसेफ कनेक्टर समावेश छन् । 
१४ इन्चको म्याकबुक प्रोको सुरुवाती मूल्य करिब २ लाख १२ हजार रुपैयाँ(१ हजार ५९९ डलर) रहेको छ । १४ इन्चको म्याकबुकको बेस मोडेलमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज छ । 

त्यस्तै १८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको १४ इन्च म्याकबुक प्रोको सुरुवाती मूल्य करिब २ लाख ६५ हजार रुपैयाँ(१ हजार ९९९ डलर) रहेको छ । 

त्यसैगरी यही मोडेल अन्तरगत ३६ जीबी र्‍याम भेरियन्ट र १ टीबी स्टोरेजको म्याकबुक प्रोको सुरुवाती मूल्य करिब ४ लाख २५ हजार (३ हजार १९९ डलर) रहेको छ ।

यस्तै, एम थ्री प्रो चिपसेट भएको १६ इन्चको म्याकबुक प्रोको सुरुवाती मूल्य करिब ३ लाख ३२ हजार रुपैयाँ(२ हजार ४९९ डलर) रहेको छ । त्यस्तै यसैको ३६ जीबी र्‍याम भेरियन्टको सुरुवाती मूल्य करिब ३ लाख ८५ हजार रुपैयाँ(२ हजार ८९९ डलर) रहेको छ ।

कम्पनीले सार्वजनिक गरिएका सबै भेरियन्टका म्याकबुक प्रो ७ नोभेम्बरदेखि वेबसाइटबाट अडर गरेर खरिद गर्न सकिने बताएको छ । साथै उसले सबै भेरियन्टको प्रि(अर्डर भने खुलिसकेको बताएको छ । 

एप्पल कम्पनीले सन् १९७६ मा पहिलो पुस्ताको एप्पल वान कम्प्युटर निर्माण गरेको थियो । - एजेन्सीहरु