काठमाण्डौ । भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा संचालित एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ(एफपीओ) जारी गर्ने भएको छ । 

नेपाल राष्टबैंकले पूँजी वृद्धिका लागि दिएको पटक पटकको दवाब अटेर गर्दै सो नीतिकै अन्य विदेशी लगानीको बैंकसँग मिलेर विरोध गरी अटेर गर्दै आएको यो बैंकले निकै ढिलो गरी पूँजी वृद्धि योजना सार्वजनिक गर्दै एफपीओ गर्ने औपचारिक जानकारी दिएको हो । बैंकका अनुसार चालु आर्थिक वर्षभित्रै ४५ करोड रुपैयाँ बराबरको एफपीओ हुनेछ । 

नेपाल राष्टबैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने नीति लिएको छ । यो नीति अनुसार लक्ष्य प्राप्तिका लागि अन्य वाणिज्य बैंकहरुले मर्जर, एक्वीजिसन, हकप्रद तथा बोनस सेयर लगायतका विकल्प रोजिरहेका बेला एभरेष्टले पनि चुक्तापूँजी बढाउनैका लागि प्रिमियम मूल्यमा एफपीओ  गर्न लागेको हो । एभरेष्ट बैंकको चुक्तापूँजी ३ अर्बको हाराहारीमा छ । 

बैंक स्रोतका अनुसार कति प्रिमिय मूल्य राखेर एफपीओ हुने भन्ने बिषय नियामकहरुसँगको छलफलपछि मात्र थाहा हुनेछ । 

एभरेष्ट बैंकले फ्रि रिजर्भमा रहेको २ अर्ब ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्ने र बैंकको नियमित नाफाबाट वार्षिक ७५ करोड रुपैयाँ पुँजीकरण गर्दै ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी  पुर्याउने योजना सार्वजनिक गरेको छ । पूँजी वृद्धिको योजनामा चारवटा बैंकसँग मर्जरको सहमति भएको बताइए पनि त्यस बिषयमा थप केही पनि खुलाइएको छैन ।