काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडको लाभांश क्षमता घटेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड वितरणयोग्य मुनाफा गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ७.७७ प्रतिशतले कम हो।

वितरणयोग्य मुनाफा घटे पनि बैंकको खुद नाफा भने १९.१७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ५३ करोड १४ लाख रुपैयाँ रहेको खूद नाफा बढेर समीक्षा अवधिमा ६३ करोड ३३ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ७५ करोड ७४ लाखमा सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष ९० करोड ४८ लाखको उचाईमा पुगेको छ ।

व्यवसाय बिस्तार बढेका कारण अघिल्लो वर्ष १ अर्ब ३ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ३१ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९९ अर्ब ३७ करोड निक्षेप संकलन गरी ८१ अर्ब ८५ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म ६ अर्ब ६७ करोड रहेको रिजर्बमा समीक्षा अवधिसम्म ८ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा चुक्तापूँजीतर्फ ३२.५७ प्रतिशतको बढोत्तरी भए पनि नाफातर्फ भने त्यसको अनुपातमा प्रगति नहुँदा यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ रुपैयाँ ७६ पैसा रहेको प्रतिसेयर आम्दानी(इपीएस) घटेर यो वर्ष २९ रुपैयाँ ९५ पैसामा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०६.५१ रुपैयाँ कायम भएको छ भने बैंकले अघिल्लो वर्ष ०.२६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा(एनपिएल)लाई घटाएर ०.२१ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ ।