काठमाण्डौ । चालु आर्थिक वर्षमा एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई १६.६५ प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्था बनाएको छ । 

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरणमा देखिएको प्रगति कायम रहे र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नु नपरे यो बैंकले चालु आबका लागि १६.६५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको हो । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ३५ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा यो बैंकले गत वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतको प्रगति गर्दै २ अर्ब २१ करोड नाफा आर्जन गरेको छ । 
खूद ब्याज आम्दानी  ३ अर्ब ५१ करोडबाट बढेर ४ अर्ब १० करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ १७.१२ प्रतिशत र कर्जातर्फ १९.३४ प्रतिशत प्रगति देखिएको हो । 

बैंकले ७ अर्ब ३४ करोडमा सीमित रिजर्बको आकार थप मजबुत बनाई ८ अर्ब ४४ करोडको उचाईमा  पुर्याएको छ । 

अघिल्लो वर्ष ०.२३ प्रतिशतमा सीमित खराब कर्जालाई घटाएर ०.१८ प्रतिशतमा सीमित भएको छ ।

अघिल्लो वर्ष ५.३९ प्रतिशत रहेको कस्ट अफ फण्ड भने बढेर ६.०७ प्रतिशत पुगेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको आधार दर ८.०१ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानीमा १८.३७ प्रतिशतको प्रगति भई ३६.४५ रुपैयाँ कायम भएको छ ।