काठमाण्डौ । अन्ततः केही दिनअघि नै चुहिएको सूचना झै एभरेष्ट बैंकले लगानीकर्ताहरुलाई बम्पर सेयर दिने घोषणा गरेको छ । 

यो बैंकका अधिकारीहरुको मिलेमतोमा सेयर बजारमा निकै लामो समयदेखि इन्साइडर ट्रेडिङको गैरकानूनी धन्दा संचालन हुँदै आएको छ । यो बिषयमा बिजशालाले निरन्तर खोजमूलक रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ । मंगलबार मात्रै एभरेष्ट बैंककै उच्च व्यवस्थापनका कर्मचारीहरुको मिलेमतोमा इन्साइडर ट्रेडिङ भएको र त्यहाँका अधिकारीहरुले जानी–जानी सूचना चुहाएर बजारलाई प्रभावित पार्ने काम गरेको समाचार बिजशालाले प्रकाशित गरेको थियो । 

समाचारमा उल्लेख बिषयवस्तुलाई पुष्टि हुने गरी एभरेष्ट बैंकले लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर र ३ बराबर १ को दरले हकप्रदको डबल अफर दिने घोषणा गरेको हो । 

मंसिर १ गते सम्पन्न कम्पनीको २७४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

अघिल्लो वर्ष एभरेष्ट बैंकले ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाख  खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी २ अर्ब ७४ करोड रुपैयाँ छ । ७० प्रतिशत बोनस सेयर व्यवस्थापनपछि चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । 

यसैबीच, मंसिर १ गतेकै बोर्ड बैठकले सेयरधनीलाई ३ बराबर १ अर्थात(३३.३३ प्रतिशत) हकप्रद वितरणको निर्णय समेत गरेको छ । बोनसपछिको चुक्तापूँजीमा ३ बराबर १ को दरले हकप्रद दिने निर्णय भएका कारण हकप्रद निश्कासन र व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ६ अर्ब २० करोडको हाराहारीमा पुग्नेछ । 

इन्साइडर ट्रेडिङको प्रभाव, बुधबार उच्च कारोबार
आइतबार एभरेष्ट बैंकको साधारण सेयर मात्रै २० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो कारोबार दिन प्रति कित्ता अन्तिम मूल्य ३ हजार ५ सय ४४ रुपैयाँ रहेकोमा सूचना चुहिएका कारण आइतबार एकैदिन बजार मूल्य ३ हजार ६ सय  ५० रुपैयाँको उचाईमा पुग्यो । 

बैंककै अधिकारीहरुको योजनामा सेयर बजारमा चुहाइएको सूचनाका कारण सोमबार र मंगलबार पनि बजार प्रभावित भयो । सोमबार प्रति कित्ता सेयरमा ४० रुपैयाँको बढोत्तरी भयो भने मंगलबार पनि सेयर मूल्य बढ्यो । तीन दिनकै अवधिमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार ७ सय ६ रुपैयाँको उचाईमा पुगिसकेको थियो । बुधबार बजार एभरेष्ट बैंककै वरिपरि घुम्यो । बुधबार एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार ७ सय ९५ रुपैयाँको उचाईमा पुग्यो । बुधबार यो बैंकले मात्र ३९ करोड बराबरको कारोबार गर्यो । आइतबार २० करोड ४३ लाख कारोबार गरेको एभरेष्ट बैंकले सोमबार १२ करोड ३५ लाख र मंगलबार १७ करोड ३४ लाखको कारोबार गरेको थियो । 

छानबिन होला ?
पछिल्ला दिनहरुमा विभिन्न कम्पनीहरुले इन्साइडर ट्रेडिङको धन्दा संचालन गर्दै आइरहेका छन् । यो धन्दाका कारण बैंक तथा बित्तीय संस्था र अन्य सूचिकृत कम्पनीहरुको उच्च व्यवस्थापनसम्म पहुँच नभएका लगानीकर्ताहरु मारमा पर्दै आइरहेका छन् । एभरेष्ट बैंकले समेत सुनियोजित रुपमा संचालन गरेको इन्साइडर ट्रेडिङको धन्दाका कारण सर्वसाधारण मर्कामा परेका छन् । एभरेष्ट बैंकले पछिल्लो समय संचालन गरेको यस्तो धन्दाको बिषयमा नेपाल धितोपत्र बोर्डले के गर्ला ? बोर्डका प्रवक्ता निरज गिरीले इन्साइडर ट्रेडिङ नेपाली सेयर बजारमा हुने गरेको स्वीकार गर्दै जनशक्तिको व्यवस्थापन गरी छानिबन गर्ने दाबी गरे ।