काठमाण्डौ । भारी ऋणमा डुबेको एयर इन्डिया ६९ वर्षपछि टाटा समूहमा फर्किने तयारीमा छ। यसका लागि लगभग सबै कानुनी औपचारिकता पूरा भइसकेको छ। टाटाले एयर इन्डियाको महिमा फिर्ता ल्याउन समयमै कार्यसम्पादन (अन–टाइम फरफर्मेन्समा जोड दिएको छ। बिहीबारबाट एयर इन्डिया उडानहरुमा चरणबद्ध रुपमा इनह्यान्ड मिल सर्भिस सुरु हुनेछ।

एयर इन्डिया आज औपचारिक रुपमा टाटा समूहलाई हस्तान्तरण गरिने सम्भावना छ। यसमा उच्च सरकारी अधिकारीहरुसँगै टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनको उपस्थिति हुन सक्छन्। 

एयर इन्डिया टाटा समूहले स्थापना गरेको थियो। तर, सरकारले ६९ वर्षअघि एयर इन्डियालाई राष्ट्रियकरण गरेको थियो। विगत केही वर्षदेखि घाटामा चल्दै आएको यो कम्पनीलाई सरकारले पटकपटक बेच्ने प्रयास पनि गरेको थियो। अन्ततः गत वर्ष टाटा सन्सले यसका लागि सफल बोली लगायो।

के छ टाटाको योजना ?

टाटाले एयर इन्डियालाई ट्रयाकमा फर्काउन अनटाइम फरफर्मेन्समा जोड दिनेछ। अर्थात् उडान समयभन्दा १० मिनेटअगाडि नै विमानका ढोका बन्द हुनेछन्। कम्पनीले केबिन क्रु सदस्यहरुलाई पठाएको मेलमा भनिएको छ, ‘बिहीबार रातिदेखि हामी सार्वजनिक क्षेत्रबाट निजी क्षेत्रमा जाँदैछौँ। आगामी ७ दिन हाम्रा लागि महत्वपूर्ण हुनेछन्। किनभने यस अवधिमा हामीले आफ्नो छवि, दृष्टिकोण र धारणा परिवर्तन गर्नेछौँ।’

टाटा समूहका सन्दीप बर्मा र मेघा सिंघानियाले इनफ्लाइट सेवा हेर्नेछन्। उनीहरुको जोड क्याबिन क्रुमा छ।

विमानभित्र हुने घोषणामा यात्रुहरुलाई अतिथिका रुपमा सम्बोधन गरिनेछ। यससँगै उनीहरुलाई टाटा समूहका अध्यक्ष एमेरिटस रतन टाटाको रेकर्डेड  म्यासेजहरु सुनाइनेछ। 

एयर इन्डियाका ४ बोइङ ७४७ जम्बो प्लेन पनि टाटालाई हस्तान्तरण गरिँदैछ। एयर इन्डियाको अधिग्रहणपछि एयरलाइन्स चलाउनका लागि एउटा व्यवस्थापकीय टोली गठन गरिनेछ। जसमा एयर एसिया इन्डिया, टीसीएस र टाटा स्टिलका अधिकारीहरु सदस्य रहेछन्। – एजेन्सी