काठमाण्डौ । टाटा समूहले आइतबार एयर इन्डियाको इतिहासका बारेमा रोचक तथ्य सार्वजनिक गरेको छ। 

सन् १९४६ मा कुरा हो। जब टाटा सन्सको एक हिस्सा टाटा एयरलाइन्सको विस्तार एक कम्पनीका रुपमा भयो। त्यसपछि यो कम्पनीको नाम छनोट गर्नुपर्ने भयो। 

टाटा समूहले आइतबार ट्विट गर्दै उल्लेख गरेको ‘भारतको पहिलो एयरलाइन्स कम्पनीको नामका लागि इन्डियन एयरलाइन्स, प्यान–इन्डियन एयरलाइन्स, ट्रान्स–इन्डियन एयरलाइन्स र एयर इन्डिया विकल्पहरु थिए।’

टाटा समूहले सन् १९४६ को टाटा मासिक बुलेटिनका अंशहरुसहित दुई तस्बिरहरु ट्विट गरेको छ। एयर इन्डियाले पनि यो ट्विटलाई रिट्विट गरेको छ।

त्यतिबेला वायुसेवा कम्पनीको नाम छनोट गर्न जनमत सर्वेक्षण गर्नुपरेको बुलेटिनमा उल्लेख छ। यसका लागि टाटा समूहका कर्मचारीलाई मतपत्र वितरण गरिएको थियो । बुलेटिनमा भनिएको छ, ‘पहिलो मतगणनामा एयर इन्डियाको पक्षमा ६४, इन्डियन एयरलाइन्सको पक्षमा ५१, ट्रान्स इन्डियन एयरलाइन्सका लागि २८ र प्यान इन्डियन एयरलाइन्सको पक्षमा १९ मत परेको थियो। पछिल्लो मतगणनामा एयर इन्डियाको पक्षमा ७२ र इन्डियन एयरलाइन्सको पक्षमा ५८ मत परेको थियो।’

यसरी नयाँ कम्पनीको नाम ‘एयर इन्डिया’ राखियो । यस वर्ष जनवरी २७ मा टाटा समूहले एयर इन्डिया र यसको सहायक एयर इन्डिया एक्सप्रेसको स्वामित्व आधिकारिक रुपमा पाएको थियो। – एजेन्सी