काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ५.४८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १३ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ५ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय ४ अर्ब ६४ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म कम्पनीले ६ अर्ब ५३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ अर्ब ६१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी १.२६ प्रतिशतले घटेको छ। 

यो अवधिसम्म कम्पनीको खुद नाफा १२९४.९२ प्रतिशतले बढेर ८ करोड ३७ लाख रुपैयाँ आर्जन सफल भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको नाफा ६० लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको व्यवस्थापन खर्च ४३ करोड ९३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च ४९ करोड ५४ लाख रुपैयाँ थियो। व्यवस्थापन खर्च पनि ११.३२ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १५.७६ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा ९० अर्ब ३० करोड रुपैयाँमा सीमित थियो। 

यसैगरी गत वर्ष यही अवधिसम्म ७० करोड ०० लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ६९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ। 

कम्पनीमा कुल कायम रहेको बीमालेखको संख्या ६ लाख ८३ हजार ८३४ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो संख्या ६ लाख ९५ हजार ७८९ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.१६ रुपैयाँ, पीई अनुपात ४२२.७९ गुणा र प्रतिसेयर नेटवर्थ १३९.९५ रुपैयाँ रहेको छ।