काठमाण्डौ । संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्ट्स (ओसीसीआरपी)को रिपोर्टले अडानी समूहलाई ठूलो झट्का दिएको छ। 

ओसीसीआरपीले आफ्नो प्रतिवेदनमा अर्बपति गौतम अडानी र उनको पोर्ट–टु–एनर्जी समूहविरुद्ध स्टक हेरफेरको आरोप लगाएको छ। बिहीबार यो प्रतिवेदन बाहिर आएपछि अडानी समूहको सेयर ओरालो लाग्न थाल्यो र केही समयमै समूहको हजारौँ करोड रुपैयाँ गुम्यो। 

ओसीसीआरपीको रिपोर्टपछि भारतीय जीवन बीमा निगम (एलआईसी) एकपटक फेरि हेडलाइनमा छ। किनकि यो बीमा कम्पनीले अडानी समूहका कम्पनीहरुमा लगानी गरेको छ। एलआईसीले पनि अडानी समूहको बजार पुँजीकरणमा गिरावट आएपछि घाटा व्यहोर्नुपरेको छ।

बिहीबार अडानी इन्टरप्राइजेजको सेयर एनएसईमा ३.५१ प्रतिशतले घट्यो। अडानी टोटल ग्यासको सेयर २.२४ प्रतिशतले घटेर बन्द भयो। अडानी इनर्जी सोलुसन्सको सेयरमूल्य ३.५३ प्रतिशतले घटेर बन्द भएको छ। अडानी ग्रीन इनर्जीको सेयरमूल्य ३.७६ प्रतिशतले घटेर बन्द भयो। अडानी पोर्ट्स र स्पेसल इकोनोमिकको सेयर ३.१८ प्रतिशतले घटेको छ। 

बिहीबार एसीसीको सेयर ०.७३ प्रतिशत, अम्बुजा सिमेन्ट ३.६६ प्रतिशत, एनडीटीभी १.९२ प्रतिशत, अडानी पावर १.९३ प्रतिशत र अडानी विल्मार २.७० प्रतिशतले घटेको थियो।

अडानी समूहले बिहीबारमात्रै ३५ हजार करोड रुपैयाँ घाटा व्यहोरेको छ। यो घाटामा एलआईसीले एक सत्रमा १४३९.८ करोड रुपैयाँ घाटा व्यहोरेको छ। एलआईसीले अडानी समूहका ६ कम्पनीमा ठूलो लगानी गरेको छ। –एजेन्सी