काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसी को हकप्रद निष्कासन प्रक्रिया अझै केही समय लम्बिने भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिन लागेकोले उक्त कम्पनीको हकप्रद सम्बन्धी प्रस्ताव स्वीकृत हुन अझै केही दिन लाग्न सक्ने एलआईसी नेपालका एक अधिकारीले बताएका छन् । 

‘धितोपत्र बोर्डमा हामीले हकप्रद सम्बन्धी प्रस्ताव पेश गरिसकेका छौं, अब आज या त आइतबारसम्ममा बोर्डबाट पहिलो कमेन्ट आउने कुरा छ’ ती अधिकारीले भने, ‘सोही कमेन्टकै आधारमा धितोपत्र ऐन बमोजिम सबै नियम र प्रक्रिया पुरा गरेर मात्रै हामी हकप्रदमा जानेछौं ।’
साथै अबको दुई साताभित्र कम्पनीले बोर्डबाट राइट सेयर जारी गर्न स्वीकृत पाउन सक्ने उनले बताए ।

‘सबै प्रक्रिया पुरा गरेर डकुमेन्ट पेश गरेका छौं, सम्भबत : अबको ९–१० दिनभित्र स्वीकृत हुन्छ’ ती अधिकारीले भने, ‘नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेपछि प्रक्रिया थोरै लम्बिएको हो, तर अब रोकिने नै अवस्था भने छैन ।’ 
 

कम्पनीको हकप्रद सेयर रोकिने भन्ने खालका समाचारहरु केवल अफवाह मात्रै भएको ती अधिकारीले बताए ।

‘प्राधिकरणले हकप्रद नै रोक्ने खालको कुनै चेतावनी दिएको छैन, बरु बोर्डबाट प्रस्ताव स्वीकृत हुन किन ढिला भइरहेको छ मात्रै सोध्नुभएको हो’, ती अधिकारीले भने । 
यता बीमा प्राधिकरणका एक उच्च अधिकारीले समेत प्राधिकरणले कम्पनीलाई त्यस्तो खालको कुनै चेतावनी नदिएको बताएका छन् । ‘प्रक्रियामा किन ढिला भइरहेको भन्ने जानकारी मात्रै लिएका हौं
, धितोपत्र बोर्डमा प्रस्ताव पठाइसकेको राइट सेयर हामीले रोक्ने कुरा हुँदैन’, उनले भने । 

कम्पनीले असोज २९ गते कायम चुक्तापूँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड २३ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको थियो ।