काठमाण्डौ । ‘एक दिन आउनेछ जब मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्नेछन्। यसरी मानिसहरु सधैँभरि बाँच्न सक्षम हुनेछन्।’

यो सोच टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको हो। ‘मलाई लाग्छ यो सम्भव छ। हामीलाई लाग्छ कि जुन चिजहरुले हामीलाई अद्वितीय बनाउँदछ, हामी ती चिजहरु डाउनलोड गर्न सक्छौँ’, मस्कले भने, ‘तपाइँ त्यो शरीरमा हुनुहुन्न तर यसले ठूलो फरक पार्छ। तर, जहाँसम्म हाम्रा सम्झनाहरु बचाउने, हाम्रो व्यक्तित्वको सवाल छ, हामी त्यो गर्न सक्छौँ।’

मस्कका अनुसार यस्तो प्रविधि आजको कम्प्युटर मेमोरीको क्रमिक विकासमात्र हुनेछ। ‘हाम्रा सम्झनाहरु तस्बिर र भिडियोका रुपमा हाम्रो मोबाइल–कम्प्यूटरमा भण्डार गरिएको छ। कम्प्युटर र फोनले हाम्रो सञ्चार गर्ने क्षमतालाई बढाउँछ, हामीलाई असम्भव मानिने कामहरु गर्न सक्षम बनाउँछ’, मस्कले भने।

हामीले पहिले नै कम्प्युटरका साथ हाम्रो मानव मस्तिष्कको व्यापक विकास गरिसकेका छौँ। मानव चेतनालाई कृत्रिम शरीरमा डाउनलोड गरेर जीवन विस्तार गर्ने विचार दशकौँदेखि विज्ञान कथाकथाहरुको एक हिस्सा हो। 

सन् १९६४ मा प्रकाशित उपन्यास ‘ड्युन’मा यस्ता जीवहरुलाई ‘साइमेक्स’ नाम दिइएको थियो। ‘माइन्ड अपलोडिङ’ प्रविधिले एक दिन सम्भव हुने विज्ञहरुको विश्वास छ। तर, त्यो कहिले हुने निश्चित छैन।

प्रिन्सटन विश्वविद्यालयमा मनोविज्ञान र न्यूरोसाइन्सका प्रोफेसर माइकल एसए ग्राजियानोले द वाल स्ट्रिट जर्नलमा लेखेका थिए कि दिमाग अपलोड गर्न दुई प्रविधि आवश्यक पर्दछ। एउटा कृत्रिम मस्तिष्क र अर्को व्यक्तिको मस्तिष्कको स्क्यान। जसबाट कसरी यसको न्युरोन्स एकअर्कासँग जोडिन्छ भनेर मूल्यांकन गर्न सकिन्छ। ग्राजियानोका अनुसार कृत्रिम मस्तिष्क बनाउन तुलनात्मक रुपमा सरल हुनेछ।

मस्कको हालको स्टार्ट–अप न्युरालिंकले ‘ब्रेन–मेसिन इन्टरफेस’ विकास गर्न काम गरिरहेको छ। मस्कका अनुसार एक दिन मानिसहरुले आफ्नो मेमोरीको ब्याकअप राख्न सक्षम हुनेछन् र मेमोरी रिकभर गर्न सक्षम हुनेछन्।

एलन मस्क आजकाल मानवीय रोबोट ‘अप्टिमस’ मा काम गरिरहेका छन्। यसको प्रोटोटाइप २०२२ को अन्त्यसम्ममा बनाइनेछ। योसँगै सन् २०२३ सम्ममा व्यावसायिक उत्पादन सुरु हुनेछ। यो टेस्ला कार बनाउन प्रयोग हुनेछ। यद्यपि मस्क भन्छन् कि ‘अप्टिमस’ ले संसार परिवर्तन गर्नेछ। यसलाई व्यक्तिगत जीवनमा पनि प्रयोग गर्न सकिन्छ। यसले मानिसहरुले गर्न नचाहने कामहरु पनि गर्न सक्षम हुनेछ। –एजेन्सी