काठमाण्डौ । विश्वका सबैभन्दा धनी एलन मस्कले टेस्लाको १.१ अर्ब डलरबराबरको सेयर बेचेका छन्।

मस्कले ट्विटरमा आफ्ना फलोअर्सको सल्लाह मान्दै सेयर बेचेका हुन्। उनले केही दिनअघि ट्विटरमा आफ्ना फलोअर्ससँग टेस्लाको सेयर बेच्ने विषयमा राय मागेका थिए। ट्विटरका फलोअर्समध्ये ५८ प्रतिशतभन्दा बढीले मस्कलाई सेयर बेच्न सल्लाह दिएका थिए। 

मस्कले कर तिर्नका लागि सेयर बेचेको बताइएको छ। मस्कले सन् २०१२ मा स्टक अप्सन अवार्ड पाएका थिए। जुन आउँदो अगस्टमा एक्सपायर हुन लागेको थियो। मस्कले सन् २०१६ पछि पहिलोपटक स्टक अप्सन्स प्रयोग गरेका हुन्।

मस्कले ट्विटरमा टेस्लाको सेयर बेच्ने विषयमा राय मागेसँग गत सोमबार मंगलबार टेस्लाको सेयरमूल्यमा भारी गिरावट आएको थियो। जसका कारण मस्कको सम्पत्ति २ दिनमै ५० अर्ब डलरले घटेको थियो। 

हिजो बुधबार भने टेस्लाको सेयरमूल्यमा ४.३ प्रतिशतको बढोत्तरी भएको छ। यसले मस्कको सम्पत्ति पुनः ११.२ अर्बले बढेको छ। योसँगै मस्कको सम्पत्ति २९९ अर्ब डलर पुगेको छ। – एजेन्सी