काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले टेस्लाको सेयर बेच्ने कि नबेच्ने भन्ने सम्बन्धमा ट्विटरमा मत सर्वेक्षण सुरु गरेका छन्। 

ट्विटर प्रयोगकर्तासामु मस्कले टेस्लाको १० प्रतिशत सेयर बेच्ने कि नबेच्ने भन्दै मत सर्वेक्षणका लागि प्रश्न राखेका हुन्। मस्कले ट्विटरमा सोधेका छन्–‘टेस्लामा रहेको मेरो १० प्रतिशत सेयर बेच्न चाहन्छु, तपाइँ यसलाई समर्थन गर्नुहुन्छ ?’

मस्कले ट्विटरमा आएका मतमा आफू सहमत हुने धारणा राखेका छन्। 

पछिल्लो समय टेस्लाको सेयर मूल्य बढ्दा मस्कको सम्पति अत्यधिक बढेको छ । हाल उनी विश्वको धनाढ्यको सूचीमा पहिलो स्थानमा छन् ।

केही समयदेखि मस्कले टेस्लाको केही हिस्सा सेयर बेच्ने कुरा बताउँदै आएका छन्। 

गत सेप्टेम्बरमा कोड कन्फ्रेन्समा एलन मस्कले टेस्ला इंकमा रहेको उनको स्टक अप्सन एक्सपायर हुने बताएका थिए। यसका लागि उनले सरकारलाई ५० प्रतिशतभन्दा बढी ट्याक्स तिर्नुपर्ने हुन सक्छ। 

यही कारणले स्टक अप्सन एक्सपायर हुनुभन्दा पहिले नै मस्कले आफ्नो हिस्सेदारी बेचेर पैसा जुटाउन १० प्रतिशत हिस्सा बेच्ने योजना बनाएको हुन सक्ने अनुमान गर्न थालिएको छ। – एजेन्सी