काठमाडौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क ‘पर्सन अफ द इयर’ का रुपमा चुनिएका छन्। 

प्रतिष्ठित टाइम पत्रिकाले मस्कलाई उक्त उपाधिका लागि चयन गरेको हो। दूरदर्शी, प्रेरणास्रोत, प्रतिभाशाली र शानदार उद्योगपतिका रुपमा मस्कलाई टाइम पत्रिकाले उक्त उपाधि दिने भएको हो। 

मस्क अन्तरिक्ष अभियान आयोजना गर्ने कम्पनी ‘स्पेसएक्स’ का संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनले हालै अमेजनका संस्थापक जेफ बेजोसलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। 

मस्कको यो छलाङमा उनको कम्पनी टेस्लाको सबैभन्दा बढी योगदान रहेको छ। जसका कारण उनको कुल सम्पत्ति ३०० अर्ब डलर पुगेको थियो। मस्कसँग टेस्लाको लगभग १७ प्रतिशत हिस्सा रहेको छ।

टाइम पत्रिकाले मस्कलाई यो उपाधिको मुख्य कारण सन् २००२ मा स्पेसएक्सको स्थापनादेखि विश्वकै सबैभन्दा मूल्यवान कार कम्पनी टेस्लाका साथै वैकल्पिक ऊर्जा कम्पनी सोलरसिटी स्थापना गर्न रहेको जनाएको छ। – एजेन्सी