काठमाण्डौ । एलन मस्क विश्वका धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा पुगेका छन्। 

फोर्ब्सले सार्वजनिक गरेको ३६ औँ वार्षिक अर्बपतिहरुको सूचीको शीर्ष स्थानमा टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क उक्लिएका हुन्। मस्क कुल २१९ अर्ब डलरसहित पहिलो स्थानमा उक्लिएका हुन्। 

अमेजनका संस्थापक जेफ बेजोस अर्बपतिहरुको सूचीको दोस्रो स्थानमा छन्। उनको कुल सम्पत्ति १९१ अर्ब डलर रहेको छ। 

त्यस्तै बर्नार्ड अर्नाल्ट १५८ अर्ब डलरसहित तेस्रो स्थानमा र माइक्रोसफ्टका संस्थापक बिल गेट्स १२९ अर्ब डलरसहित चौथो स्थानमा छन्। 

विश्व सेयर बजारका बादशाह वारेन बफेट ११८ अर्ब डलर सम्पत्तिका साथ पाँचौँ स्थानमा छन्। 

विश्वका अर्बपतिहरुको सूचीमा भारतीय धनाढ्य मुकेश अम्बानी ९०.७ अर्ब डलरका साथ १०औँ स्थानमा र ९० अर्ब डलर सम्पत्तिका साथ भारतकै गौतम अडानी ११औँ स्थानमा छन्।

फेसबुक (मेटा) का संस्थापक मार्क जुकरबर्ग १५औँ स्थानमा ओर्लेका छन्। उनको कुल सम्पत्ति ६७.३ अर्ब डलर रहेको छ।

फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी १९२९ औँ स्थानमा छन्। उनको कुल सम्पत्ति १.५ अर्ब डलर रहेको छ।