काठमाण्डौ । टेस्ला इंक र स्पेस एक्सका संस्थापक एवं सीईओ एनल मस्कलाई फेरि एउटा ठूलो झट्का लागेको छ। 

ब्लुमबर्गले मंगलबार सार्वजनिक गरेको विश्वका सर्वाधिक धनीको सूचीमा मस्क दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेका हुन्। दोस्रो स्थानमा मस्कलाई पछि पार्दै एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नल्ट उक्लिएका छन्। बर्नार्डको कुल सम्पत्ति १६२ बिलियन डलर रहेको छ। 

ब्लुमबर्गका अनुसार मंगलबारसम्म मस्कको कुल सम्पत्ति ३.१६ बिलियन डलर घटेर १६१ बिलियन डलरमा झरेको छ। पछिल्लो समय टेस्लाको सेयरमा गिरावट आउन थालेपछि मस्कको सम्पत्तिमा गिरावट आएको छ। उनले हालै बिटक्वाइनबाट टेस्ला कार खरिद गर्न नपाउने ट्विट गरेसँगै टेस्ला कम्पनीको सेयरमा गिरावट आउन थालेको हो।

टेस्ला कम्पनीसँगै बिटक्वाइनको मूल्यमा पनि भारी गिरावट आइरहेको छ। 

विश्वका सर्वाधिक धनीको सूचीको पहिलो स्थानमा अमेजनका संस्थापक जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १९० बिलियन डलर रहेको छ। 

यसैगरी तेस्रो स्थानमा १४४ बिलियन डलर सम्पत्तिका साथ माइक्रोसफ्टका संस्थापक बिल गेट्स र ११८ बिलियन डलर सम्पत्तिका साथ पाँचौँ स्थानमा फेसबुकका मार्क जुकरबर्ग रहेका छन्। – एजेन्सी