काठमाण्डौ । एशियन बैंकर्स एशोसिएसन(एबीए) का प्रेसिडेन्ट यूजन एस. एकेरेडोले एशिया प्रशान्त क्षेत्रका देशहरुमध्ये नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा अनुपात(एनपीएल) निकै नै कम रहेको दाबी गरेका छन् ।
नेपालमा सुरु भएको एबीएको ३९ औं सम्मेलनका क्रममा काठमाण्डौ आएका उनले पत्रकारहरुसँग कुराकानी गर्दै एशियामै सबैभन्दा कम खराब कर्जाको अनुपात नेपालमा रहेकोले आफूलाई भाग्यमानी ठान्न आग्रह गरे ।
'म रहेको देश(फिलिपिन्स) सहित एशियाका प्राय सबै देशमा बैंकिङ क्षेत्रको एनपीएल नेपालको भन्दा दुईगुणा बढी छ ।' नेपालको ग्रस एनपीएल ३.८ प्रतिशत रहेको कुरा सुनेपछि यूजिनले भने-'तपाईहरु आफूलाई भाग्यमानी ठान्नुस् कि एनपीएल अत्यन्त ‘लो लेभल’मा रहेछ ।'
उनले नेपालका बैंकहरुका अन्य सूचकहरु पनि निकै राम्रा रहेका भन्दै प्रशंसा गरे । 'नेपालको बैंकिङ क्षेत्र निकै राम्रो ढंगले म्यानेज भएको रहेछ । यसका लागि यहाँका बैंकर साथीहरुलाई पनि म बधाई दिन चाहन्छु ।'
उनले थपे-'प्रत्येक सय वर्षमा एकपटक आउने प्रकोप(कोभिड प्रकोप)का कारण विश्वका अधिकांश अर्थतन्त्र धरमराएको अवस्थामा समेत नेपाल निराशाजनक स्थितिमा नहुनु सुखद हो ।'
उनले नेपालसहित विश्वका अधिकांश देशका धेरै विश्लेषक तथा जनता उच्च ब्याजदरको पछाडि लागेका उल्लेख गर्दै यसलाई ठूलो हाउगुजीको रुपमा नबुझ्न र यो निकै नै चाँडै तल्लो लेभलमा आइपुग्छ भनेर बुझ्न समेत आग्रह गरे ।
उच्च ब्याजदरले माग सिर्जनामा कमी ल्याई अर्थतन्त्रको वृद्धिदरलाई सुस्त बनाउनेतर्फ चिन्ता व्यक्त गर्दै विश्वव्यापी रुपमा ब्याजदर घट्न थालेकोमा सन्तोष व्यक्त गरे । 'अमेरिकाले पछिल्लो समय रेट बढाएको छैन, आगामी दिनमा थप रेट कटौति गर्दै जाने संकेतहरु देखिएका छन् ।' उनले थपे-'एशिया प्रशान्त क्षेत्रका केन्द्रीय बैंकहरु पनि त्यही बाटोमा छन्, त्यसैले अब उच्च ब्याजदर बिस्तारै घट्दै जानेछ ।'
उनले विश्वव्यापी रुपमा उच्च तहमा पुगेको ब्याजदरको साइकल अब अन्त हुने दिशातर्फ रहेको र अर्को वर्षको दोश्रो त्रैमाससम्म उच्च ब्याजदरको चिन्ता हटेर जाने समेत दाबी गरे ।
'अहिले उच्च ब्याजदर यदि अर्को वर्षसम्म पनि कायमै रहने अवस्था बन्यो भने हामी सहन सक्दैनौं ।' उनले भने-'तर प्रशस्त राम्रा संकेतहरु देखिएका छन् । अब एशियाका सबै अर्थतन्त्रमा राम्रो हुनेछ ।'
ऋण नतिर्ने मानिस खराब हुँदैन, बैंकले सहयोग गर्नुपर्छ
यूजिनले कोभिड १९ प्रकोपका कारण धेरै व्यापार व्यवसायमा गम्भीर समस्या देखिएको उल्लेख गर्दै ऋण नतिरेकै कारण कुनै पनि बैंकले आफ्ना कुनै पनि ऋणिलाई खराब करार गर्न नहुने तर्क पेश गरे ।
बरु बैंकहरुले प्रकोपका कारण गम्भीर असर परी विजिनेश चौपट भएका आफ्ना ऋणिहरुलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । 'आफ्ना ऋणिहरुको लोनको पुनरसंरचना गरेर हुन्छ कि के गरेर हुन्छ, उसलाई ऋण तिर्न सहज बनाइदिनुपर्छ । बैंकहरुले त्यस्ता विजिनेशहरुको विजिनेश टिकाउन सहयोगी भूमिका खेल्नुपर्छ ।' उनले भने-'बैंकहरुले आफ्ना ऋणिको विजिनेश(दोकान) नै बन्द हुने गरी कडा नीति लिनु हुँदैन । यो गलत हो ।'
उनले नेपालको सन्दर्भ उल्लेख गर्दै यहाँका बैंकहरु कर्जा दिनसक्ने अवस्थामा भए पनि लोनको माग नरहेकोतर्फ इंगित गर्दै ऋणिहरुमा मनोबल कमजोर हुँदा यस्तो अवस्था बनेको बताए । 'वन्स बिटन ट्वाइस साई' भनेजस्तो एकपटक हण्डर खाएको ऋणिले फेरि लोन लिने आँट गरेको छैन ।' उनले भने-'यो निकै ठूलो समस्याको रुपमा देखिएको छ । तर तपाईहरु चिन्ता नगर्नुस्, अरुको तुलनामा नेपालको समस्या कम छ । नेपालका बैंकरहरुले निकै राम्रो गरिरहेका छन् ।'
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19