काठमाण्डौ । नेपाल एसबीआई बैंकले १७.३२ प्रतिशतले खूद नाफा बढाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा जारी आर्थिक वर्षको सोही अवधिमा नाफामा यस्तो प्रगति हासिल भएको हो । 

बैंकले बिहीबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको पहिलो त्रैमासमा ३० करोड २० लाख खूद नाफा गरेको बैंकले यो वर्षको सोही अवधिमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको हो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । ५६ करोड ६९ लाख रहेको खूद ब्याज आम्दानी यो वर्ष ६९ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । 

बैंकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ छ  भने जगेडाकोषमा ३ अर्ब ४४ करोड रुपैयाँ छ । 

बैंकले चालु वर्षको पहिलो त्रैमासमा ६८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ५२ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५३ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३९ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकले निस्क्रिय कर्जा दर(एनपीएल) समेत केही घटाएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ०.१८ प्रतिशत रहेको एनपीएल घटाएर ०.११ मा झारेको हो । 

यसको प्रति सेर आम्दानी ३६.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८८.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५३.०४ गुणा कायम भएको छ ।