काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा खूद नाफा २१.६ प्रतिशतको मात्र वृद्धि हासिल भएको हो । 

अघिल्लो वर्ष यो बैंकको खूद नाफा ६२ करोड ३९ लाख रहेकोमा यो वर्ष सोही अवधिमा बढेर ७५ करोड ८७ लाखको उचाईमा पुुगेको हो । 

यो बैंकले खुद व्याज आम्दानी २७ दशमलव १६ प्रतिशतले बढाएर १ अर्ब ४५ करोडको उचाईमा पुर्याएको छ भने संचालन मुनाफा २५ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ अर्ब १६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । बैंकले १५ करोड ९३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने २ करोड ६८ लाख रुपैयाँ राइटव्याक गरेको छ । 

यो अवधिमा बैंकले ७७ अर्ब ५० करोड निक्षेप संकलन गरी ५९ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५८ अर्ब ३६ करोड निक्षेप संकलन गरी ४१ अर्ब ८१ करोड कर्जा परिचालन गरेको थियो । 
बैंकले निस्क्रिय कर्जा(एनपीएल)को अनुपातलाई केही घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म निस्क्रिय कर्जा अनुपात०.१७ प्रतिशत रहेकोमा यो वर्ष घटेर ०.१२ प्रतिशतमा आइपुुगेको हो । 

यो बैंकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रहेको छ । हालै जारी एफपीओको बाँडफाँडपछि चुक्तापूँजी ३ अर्ब ८९ करोड पुुग्ने बताइएको छ । दोश्रो त्रैमाससम्म यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी ३९.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.२९ गुणा कायम भएको छ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर वितरणको यसअघि नै प्रस्ताव गरिसकेको छ । साथै, बैंकले ४० प्रतिशत हकप्रदको समेत प्रस्ताव गरेको छ । प्रस्तावित बोनस र हकप्रद वितरण तथा व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ६ अर्ब ९७ करोडको उचाईमा पुुग्नेछ ।