काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) विधि अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण पस्किएको छ । यो बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १९.९३ प्रतिशतको प्रगति भएको विवरण पस्किएको हो । 

अघिल्लो वर्ष नेपाल एसबीआई बैंकले १ अर्ब ५६ करोड खूद नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म १ अर्ब ७७ करोड नाफा आर्जन गरेको हो । बैंकले १ अर्ब ३४ करोड वितरणयोग्य नाफा आर्जन गरेको देखिएको छ । 

कम्पनीको संचालन मुनाफा समेत बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ८७ करोडमा सीमित संचालन नाफा बढेर ५ अर्ब २ करोड माथि पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब ९९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ४ अर्ब १२ करोडको उचाईमा पुगेको छ । 

बैंकले समीक्षा अवधिमा ८४ अर्ब २१ करोड निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ८० अर्ब ८१ करोड निक्षेप संकलन गरी ६४ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

बैंकले जगेडाकोषमा समेत बिस्तार गरेको छ । ३ अर्ब ६१ करोडमा सीमित जगेडाकोष बिस्तार गरी ४ अर्ब ७४ करोडको उचाईमा पुगेको छ । 

बैंकमा खराब कर्जाको अनुपात भने ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ०.१० प्रतिशतमा सीमित यस्तो कर्जाको अनुपात सतप्रतिशत बढेर ०.२० प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.४ गुणा कायम भएको छ ।