काठमाण्डौ । जापानी दुईपांग्रे सवारी उत्पादक कम्पनी कावासाकीले आफ्नो नयाँ मोटरसाइकल निन्जा जेडएक्स–४आर भारतीय बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ। 

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यो बाइकको भारतमा सुरुआती मूल्य भारु. ८.४९ लाख (एक्स शोरुम) तोकिएको छ। ३९९ सीसी इनलाइन–४ इन्जिन भएको यो बाइक मूल्य धेरै भए पनि कम्पनीले यसमा एड्भान्स फिचर र प्रविधि प्रयोग गरेको छ।

कम्पनीले यो बाइकमा ३९९ सीसी क्षमताको लिक्विड कुल्ड, इनलाइन–४ सिलिन्डर इन्जिन प्रयोग गरेको छ। जसले ८० एचपीको बलियो पावर उत्पादन गर्छ। कावासाकीले यो बाइकको केवल बेस भेरियन्टमात्र भारतीय बजारमा लन्च गरेको छ। यसको उच्च भेरियन्ट एसई र जेडएक्स–४आआर भातरमा प्रस्तुत गरिएको छैन। यो बाइकको अगाडि अप–साइड डाउन (यूएसडी) फोर्क र पछाडि मोनोशक सस्पेन्सन भएको ट्रेलिस फ्रेम छ।

कावासाकी निन्जा जेडएक्स–४आरलाई कम्पनीले विश्वस्तरीय सुपरबाइकका रुपमा विकास गरेको छ। बाइकको सेन्टर अफ ग्रेभिटी पोजिसन, स्विङआर्म पिभोट पोजिसन, इन्जिन एक्सिस र कास्टर एंगललगायत सबै कावासाकीको वर्ल्ड सुपरबाइक निन्जा जेडएक्स–१०आआर रेसरबाट प्रेरित छ। यसमा कम्पनीले डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टमलाई स्ट्यान्डर्डका रुपमा दिएको छ। यसको अगाडि २९० एमएम डिस्क ब्रेक र पछाडि २२० एमएम डिस्क ब्रेक छ।

यस बाइकमा कम्पनीले ४.३ इन्चको ब्लुटुथ इनेबल कलर टीएफटी डिस्प्ले प्रदान गरेको छ। जसले पालैपालो नेभिगेसन, सूचना अलर्ट र ट्रयाक लेआउटका बारेमा जानकारी दिन्छ। यस बाइकमा स्पोर्ट, रोड, रेन र कस्टमाइज राइडर मोड गरी जम्मा ४ वटा राइडिङ मोड उपलब्ध छन्। यस मोडमा चालकले आफ्नो गाडीको पावर र पफर्मेन्सलाई कस्टमाइज गर्न सक्छ। यो बाइक एउटा मेटालिक स्पार्क ब्ल्याक कलरमा मात्र उपलब्ध छ। –एजेन्सी