काठमाण्डौ । अमेरिकाले पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरुले तेल उत्पादनमा कटौती गर्ने निर्णय गल्ती भएको जनाएको छ। अमेरिकाले यसले रुसलाई फाइदा पुग्ने धारणा पनि सार्वजनिक गरेको छ। 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारिन जीन–पियरले ओपेक प्लसले गत हप्ता लिएका निर्णयहरु रुसको पक्षमा र विश्वभरका जनताको हितविपरीत रहेको बताइन्। ‘यो निर्णयले न्यून आय भएका अर्थतन्त्रलाई हानी पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘यो भ्रामक निर्णय हो र यो एक गल्ती र अदूरदर्शी निर्णय हो।’

क्यारिनले राष्ट्रपति जो बाइडेनले साउदी अरेबियासँगको आफ्नो सम्बन्धको पुनः मूल्यांकन गर्ने पनि बताइन्।

अर्कोतर्फ आर्थिक मन्दीको आशंकाबीच मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। 

कच्चा तेलको आपूर्तिमा आएको कमीसँगै विश्वव्यापी आर्थिक मन्दीको चिन्तामा तेलको मूल्य घटेको हो। विश्वव्यापी माग घट्ने डरले कच्चा तेल दुई साताकै न्यून विन्दुमा झरेको छ। 

आज बिहान भने कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ। ब्रेन्ट तेलको मूल्य प्रारम्भिक कारोबारमा ०.९३ प्रतिशत अर्थात ०.८४ डलरले बढेर प्रतिब्यारेल ९०.८७ डलरमा कारोबार भएको थियो। त्यसैगरी, कच्चा तेल डब्ल्यूटीआई १.४३ प्रतिशत अर्थात १.१९ डलरले बढेर प्रतिब्यारेल ८३.२६ अमेरिकी डलरमा कारोबार भएको भइरहेको छ। 

चीनको इन्धन माग आउने सक्ने कमीले यो हप्ता मूल्यमा गिरावट आएको अर्थविदहरु बताउँछन्। चीनले मंगलबार जीडीपीको तथ्यांक सार्वजनिक गर्ने भनिएको थियो। तर, त्यसमा ढिलाइ हुने भएको छ। यसले लगानीकर्तामा त्रास बढाएको छ। –एजेन्जी