काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेर कारोबार भएको थियो। कारोबारको अन्तिममा २० अंकले घटेर बजार बन्द भएको छ। 

आज बजार घट्दै गर्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ। यसले बिक्रीकर्ता पछि हटेको बुझिन्छ। 

प्राविधिक रुपमा आजको बजारलाई १ घन्टाको समयावधिमा हेर्दा पहिलो, दोस्रो र तेस्रो आवरमा घटेको छ भने अन्तिम आवरमा बजारमा केही सम्हालिन खोजेको देखिन्छ। अघिल्लो ३ घन्टाको तुलनामा अन्तिम समयमा कारोबार पनि बढेको छ। 

एक घन्टाकै समयावधिमा बोलिंगर ब्यान्डबाट बजारलाई हेर्दा लोवर ब्यान्डमा ह्याम्मर क्यान्डल बनेको छ। तर, यो क्यान्डल भ्यालिड हुन भने आगामी कारोबारमा बजार २०४५ भन्दा माथि बन्द हुनुपर्नेछ। 

म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। तर, हिस्टोग्राम फिक्का बनेको छ। 

आरएसआई ओभर सोल्ड जोन नजिक ३५ को तहमा रहेको छ। यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन ३० भन्दा तल पनि जान सक्छ। यसभन्दा पहिले २५ बाट बजार फर्केको देखिन्छ। घट्दा बजार प्रायः २० देखि ३० बाट फर्किने गर्छ। 

डेली बेसमा भने अझै पनि आरएसआई ४० कै तहमा रहेको छ। मनी फ्लो इन्डेक्सबाट बजारलाई हेर्दा भने बजारमा खासै कुनै सुधारको अवस्था देखिँदैन।

पिभटमार्फत हेर्दा बजारले आज पहिलो सपोर्ट २०१० मा लिएको छ। यदि यहाँबाट पनि तल जान्छ भने बजारको दोस्रो सपोर्ट १९५४ मा रहेको छ। 

यदि आगामी दिनमा बढ्छ बजारले भने क्रमशः २०५६, २१११ र २१५६ मा प्रतिरोध सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।