काठमाण्डौ । अमेरिकामा कतिपय क्षेत्रका केही श्रेणीको कच्चा तेलको मूल्य नकारात्मक अवस्थामा पुगेको छ । यसको अर्थ यो हो कि कतिपय तेल उत्पादक कम्पनीहरुले उपभोक्तालाई तेल लैजानका लागि पैसा दिइरहेका छन् । अर्थात कम्पनीहरुले भनिरहेका छन् कि तेल पनि लैजानुहोस् र तेल लैजाएर सहयोग गरेबापत हाम्रो तर्फबाट पैसा पनि लिएर जानुहोस् ।
जुन श्रेणीको क्रूड(कच्चा तेल)को यो अवस्था भएको छ, त्यसमध्ये सबैभन्दा पहिलो नाम हो व्योमिङ अस्फाल्ट सावर । यो निकै गाढा तेल हो । यसको अधिकांश उपयोग बिटुमिन बिछ्याउनमा हुन्छ । एक ट्रेडिङ कम्पनी मक्र्यूरिया एनर्जी ग्रुप लिमीटेडले मध्य मार्चमा यो क्रूडका लागि नकारात्मक १९ सेन्टको बोली लगाएको थियो । यसको मतलब उसले उत्पादकलाई भनेको छ कि उनीहरुको उत्पादन लैजानका लागि उसलाई पैसा दिनुपर्छ ।
कन्सल्टिङ कम्पनी इएसएआईका एक विश्लेषकलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार यो ल्याण्डलक्ड क्रूड हो, जसको कुनै खरिदार छैनन् । जुन क्षेत्रमा तीव्र रुपमा स्टोर भरिँदै गएको छ, त्यहीँ नै तीव्र गतिमा मूल्य पनि नकारात्मक बन्दै जानेछ । यसपछि कम्पनीले आफ्नो कारोबार बन्द गर्नेछ ।
यो बेला विश्वभर चर्चित ब्रेन्ट क्रूड तथा वेस्ट टेक्सास इन्टरमिडिएटले २० डलर प्रतिब्यारेल आसपासमा मात्र व्यापार गरिरहेका छन् । तर, जहाँ तेलको वास्तविक ब्यारेलको खरीदबिक्री हुन्छ, त्यहाँको मूल्य योभन्दा निकै कम छ । किनभने कोरोना भाइरस फैलिनबाट रोक्नका लागि लकडाउन गरिएका कारण विश्वभर तेलको माग ह्वात्तै घटेको छ।
तेल उत्पादकहरुको भनाईलाई आधार मान्ने हो भने अन्य श्रेणीको क्रूडहरु पनि चाँडै नै उत्पादन हुने ठाउँमा नकारात्मक दायरामा पुग्नेछन् । किनभने रिफाइनरी कम्पनीले क्रूडको प्रोसेसिङको स्तर घटाइदिएका छन् । यसका कारण माग घटेको छ र उत्पादन कम्पनीहरुले आफ्नो क्रूडको आपूर्ति गर्न पाइरहेका छैनन् ।
उत्तर अमेरिकामा त कतिपय कच्चा तेल प्रतिब्यारेल १० डलरभन्दा पनि कम भाउमा कारोबार गर्न विवश छन् । क्यानडाको क्यानेडियन वेस्टर्न सेलेक्ट गत शुक्रबार ५.०६ डलर प्रतिब्यारेलको मूल्यमा मात्र बिक्री भएको थियो । मेक्सिकोको खाडीमा उत्पादन हुने साउदर्न ग्रीन केन्यन ११.५१ डलर प्रति ब्यारेल मूल्यमा बिक्री भएको छ ।
ओकाहामा सावर ५.७५ डलर प्रतिब्यारेलमा बिक्री भइरहेको छ । नेब्रास्का इन्टरिम डाइट नामको क्रूड आयल ८ डलर प्रतिब्यारेल कारोबार हुन थालेको छ । व्योमिंग स्वीट ३ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19