काठमाण्डौ । विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकका महासचिव ह्याथम अल घ्यास कच्चा तेलको मूल्य छिट्टै प्रतिब्यारेल १०० डलर पुग्न सक्ने चेतावनी दिएका छन्। 

महासचिव ह्याथमले यस्तो चेतावनी दिएका हुन्। ‘अहिले तेल उद्योगमा लगानीको कमी छ, जुन विश्वव्यापी ऊर्जा सुरक्षाका लागि खतरा हुन सक्छ’, उनले भने, ‘यसले कच्चा तेलको मूल्य छिट्टै प्रतिब्यारेल १०० डलर पुग्न सक्ने देखिन्छ।’

अबु धाबीमा भएको एडीपीईसी ऊर्जा शिखर सम्मेलनमा बोल्दै घ्यासले ऊर्जाको मूल्यमा भएको वृद्धिलाई रोक्नका लागि अहिलेदेखि २०४५ सम्म तेल उद्योगमा कम्तीमा १२ ट्रिलियन डलरको लगानी आवश्यक रहेको बताए। तेल क्षेत्रमा कम लगानी ‘खतरनाक’ भएको उल्लेख गर्दै उनले भने, ‘कम लगानी गरेर हामी वास्तवमा ऊर्जा सुरक्षालाई खतरामा पारिरहेका छौँ। मलाई लाग्छ कि माग बढ्दै जाँदा मूल्य अस्थिरता बढ्ने गम्भीर सम्भावना छ।’

ग्लोबल बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य जुन मध्यको न्यून स्तरबाट २९ प्रतिशतले बढेको छ। गत नोभेम्बरयताकै उच्च स्तरमा ब्रेन्ट कच्चा तेलको कारोबार भइरहेको देखिन्छ। बुधबार यो प्रतिब्यारेल ९० डलरभन्दा माथि कारोबार भएको देखिएको छ। 

मुख्यतया साउदी अरेबिया र रुसले उत्पादन कटौतीका कारण कच्चा तेलको मूल्य बढिरहेको हो। 

घ्यासले लगानी अभावको यो समस्यालाई विश्वले समाधान गर्नु अत्यन्त जरुरी र आवश्यक रहेको औँल्याए। ‘कम लगानी गरेर हामी वास्तवमा ऊर्जा सुरक्षालाई खतरामा पारिरहेका छौँ’, उनले भने, ‘२०४५ सम्म विश्वलाई कम्तीमा १२ ट्रिलियन डलरको लगानी चाहिन्छ।’ –एजेन्सी