काठमाण्डौ । भारतको केन्द्र सरकारले मंगलबारदेखि घरेलु रुपमा उत्पादन हुने कच्चा तेलमा विन्डफल ट्याक्स हटाएको छ। 

यसअघि कच्चा तेलमा प्रतिटन भारु ३ हजार ५०० लाग्ने विन्डफल ट्याक्स अहिले शून्य भएको छ। पेट्रोलियम र एटीएफमा विन्डफल ट्याक्स हटाएपछि डिजेलमा विन्डफल ट्याक्स पहिलेको भारु १ बाट घटाएर प्रतिलिटर ०.५ रुपैयाँ कायम गरिएको छ। 

यो निर्णय ओपेक प्लस देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेको समयमा आएको हो। तेल उत्पादन कटौतीको निर्णयले गत सोमबार ब्रेन्ट कच्चा तेल लगभग ६ प्रतिशतले बढेर ८४.५८ डलर प्रतिब्यारेल पुगेको छ। 

ऊर्जाको उच्च मूल्यका कारण तेल उत्पादकहरुको नाफा धेरै गुणा बढेपछि गत वर्ष जुलाई १ गते भारतमा पहिलोपटक विन्डफल ट्याक्स लगाइएको थियो। त्यसबेला पेट्रोल र एटीएफमा प्रतिलिटर भारु ६ र डिजेलमा प्रतिलिटर भारु १३ निर्यात महसुल लगाइएको थियो। भारतको आन्तरिक कच्चा उत्पादनमा प्रतिटन भारु २३ हजार २५० विन्डफल ट्याक्स लगाइएको यिथो।

गत वर्ष जुलाई १ मा भारतले कच्चा तेल उत्पादकहरुमा अप्रत्याशित कर लगायो र पेट्रोल, डिजेल र हवाई इन्धनको निर्यातमा शुल्क लगाएको थियो। त्यतिबेला निजी रिफाइनर्सले स्वदेशमा बिक्री गर्नुको साटो विदेशी बजारमा कडा मार्जिनमा बिक्री गरेर नाफा कमाउन खोजेकाले भारत सरकारले यस्तो निर्णय गरेको थियो।

रोसनेफ्ट समर्थित नायरा इनर्जी देशको सबैभन्दा ठूलो इन्धन निर्यातकर्ता हो। भारतले पहिलोपटक गत वर्ष जुलाई १ मा विन्डफल मुनाफा कर लगाएको थियो। योसँगै यो ऊर्जा कम्पनीहरुको सुपर नाफामा कर लगाउने देशको सूचीमा परेको थियो।

कुनै विशेष प्रकारको परिस्थितिबाट तुरुन्तै लाभ उठाउने कम्पनी वा उद्योगमा विन्डफल ट्याक्स लगाइन्छ। युक्रेनमा रुसले आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको थियो। यसबाट तेल कम्पनीहरु मालामाल भएका थिए। 

पेट्रोलियम पदार्थमा नेपाल भारतमा निर्भर रहेको छ। यदि विन्डफल ट्याक्स घटाएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो भने नेपालमा पनि भारतले घटाएर पेट्रोलिम पदार्थ पठाउन सक्छ। यसले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने सम्भावना रहेको छ। –एजेन्सी