काठमाण्डौ । विश्व अर्थव्यवस्थामा सन् २००८ को मन्दीले उथलपुथल ल्याएको थियो। त्यतिबेला मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरहरु बढाइएको थियो। यद्यपि, मन्दी अन्त्य गर्न निकै सकस परेको थियो। 

अहिलेको परिदृश्य पनि त्यस्तै बन्दै गइरहेको भन्दै विश्वभर चिन्तन–मनन गर्न थालिएको छ। 

जानकारहरुका अनुसार २००८ को जुलाईमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३४.३ अमेरिकी डलर पुगेको थियो। सोही वर्ष जनवरीमा प्रतिब्यारल ९३.६० डलर थियो। जसका कारण मन्दीमा तीव्रता आयो र अन्ततः तेलको माग घट्यो। यसले फेरि तेलको मूल्य निकै कम भएको थियो। 

विज्ञहरुका अनुसार पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण पछिल्लो १८ महिनामा विश्वभर लगभग १० करोड मानिस गरिबीको घेरा फसेका छन्। अहिले पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारल ९० डलर माथि पुगेको छ। मूल्य बढ्नुको एउटा प्रमुख कारण रुस र साउदी अरबले तेल उत्पादन कटौती गर्नुपर्ने पनि हो। 

कच्चा तेलको मूल्य प्रतिब्यारल ८० डलरको आसपास विश्वभरका लागि सुविधाजनक हुने विज्ञहरुको ठहर छ। 

यसअघि अबु धाबी अन्तर्राष्ट्रिय पेट्रोलियम प्रदर्शनीमा ओपेकका महासचिव ह्याथम अल घ्यासले तेल उत्पादन क्षेत्रमा लगानी कम रहेको औँल्याएको थिए। उनले सोही कारण पनि तेलको मूल्य छिट्टै १०० डलर माथि पुग्ने चेतावनी पनि दिएका थिए। –एजेन्सी